टीकापुर, कात्तिक २७
टीकापुर नगरपालिका वडा नम्बर १ स्थित कर्णाली माध्यामिक विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष पदम बहादुर टमट्टाको अध्यक्षतामा भएको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार विद्यालयले शैक्षिकसत्र २०८१ मा ६ करोड ५८ लाख ४६ हजार ७ सय ४ रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसमध्ये दुई करोड ६९ लाख ७४ हजार ७४ रुपैयाँ बचत गरेको सामाजिक परिक्षण प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयले सामाजिक परिक्षण अनुसार गरिएको मुल्यांकनमा १०० मा ९२ अंक प्राप्त गरेको छ । टीकापुर नगरपालिका भित्र सबैभन्दा बढी विद्यार्थी संख्या भएको उक्त विद्यालयमा शैक्षिकसत्र २०८१ मा दुई हजार ९५ जना बिद्यार्थी भर्ना भएका थिए । प्रतिवेदन अनुसार विद्यालयको सिकाई उपलब्धि क्रमशः सुधार हुँदै गएको देखिएको छ ।
कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले नगरपालिका भित्र रहेका विद्यालयहरुमा सबैभन्दा उत्कृष्ट विद्यालयको रुपमा चिनिँदै आएको बताउँदै आर्थिक रुपमा पुर्ण सफल रहेको बताएका छन् ।
उनले विद्यालयका राम्रा कुराहरूलाई अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्ने उल्लेख गर्दै सुधार गर्नुपर्ने सुझावका रुपमा आएका कुराहरूलाई क्रमशः सुधार गर्दै लैजान सुझाव दिएका छन् ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विकले विद्यालयसँग अभिभावक नजिक हुनुपर्नेमा जोड दिँदै अभिभावकको सुझाव सल्लाह अनुसार आगामी दिनको योजना तय गर्न सजिलो हुने बताएका छन् ।
उनले सकारात्मक सुझाव सल्लाहलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा खड्ग स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक झनकराज ओझा, नगर शिक्षा समितिका सदस्य जोगी रावल, अभिभावक रामेश्वर रेग्मी लगायतले बोलेका थिए ।
कार्यक्रमको स्वागत प्रधानाध्यापक धर्मराज शर्माले गरेका थिए भने सञ्चालन शिक्षक हरिश अवस्थीले गरेका थिए ।




