Hamro Patra
सेती राजमार्ग निर्माणका लागि दबाव समूह गठन

टीकापुर, कात्तिक २८
त्रिदेशीय महत्वको सेती राजमार्ग समयमै निर्माणका लागि नागरिक स्तरबाट आवाज उठ्न थालेको छ । मोहन्याल गाउँपालिकाको खिमडीमा राजमार्ग निर्माणमा भैरहेको प्रगति, ढिलाई र अबको आवश्यकताका विषयमा भएको छलफलले सेती राजमार्ग शिघ्र निर्माणका लागि नागरिक दवाव समूह गठन गरेको छ । 

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रेमबहादुर कुँवरको संयोजकत्वमा समूह गठन गरिएको छ । सो समूहमा राजमार्गले छोएका कैलालीदेखी बझाङका पालिकाका प्रमुख वा प्रतिनिधि सदस्य रहने छन । कुँवर आयोगको सदस्य रहेकै वर्ष आव २०६६/०६७ देखी राजमार्ग निर्माणको काम सुरु भएको थियो । 

समूहले राजमार्ग समयमै निर्माण सम्पन्न गराउन जनताको पक्षबाट सरकारी निकायसँग समन्वय गर्ने बताईएको छ । छलफलले आवश्यकता अनुसार स्थानीयस्तरमा समेत थप उपसमिति गठन गर्नसक्ने निर्णय गरेको छ । 

सोही छलफलले ट्रयाक खोलेको कैलालीको बर्दगोरियादेखी मोहन्यालको खिमडी र बझाङको खप्तडछान्नादेखी चैनपुरसम्मको सडकमा नियामक निकायको सहमतिमा हलुका सवारी साधन सञ्चालन गर्न माग गरेको छ । त्यस्तै ट्रयाक खोल्न बाँकी रहेका ठाउँमा भैरहेको कामलाई तिब्र दिनुपर्ने, ट्रयाक खोलिसकेका ठाउँमा सडक कालोपत्रे र खार खोला, ठूलीगाड र सेती नदीमा पक्की पुल निर्माण हुनुपर्ने समेत माग गरिएको छ । 

सो राजमार्ग निर्माण सुरु भएको १६ वर्षमा समेत ट्रयाक खोल्ने काम सकिएको छैन । कैलालीको टीकापुरदेखी बझाङको ताक्लाकोटसम्मको ३५९ मध्ये हालसम्म २१२ किलोमिटरमा मात्रै ट्रयाक खोलिएको छ । 

राजमार्ग निर्माणको कामलाई दुई भागमा विभाजन गरिएको छ । कैलाली, डोटी, अछाम र बाजुरा जिल्ला हेर्ने गरी सेती राजमार्ग (दक्षिण खण्ड) र बझाङ हेर्ने गरी सेती राजमार्ग (उत्तर खण्ड) नामाकरण गरिएको छ । दक्षिण खण्ड हेर्न अछामको साँफेबगर र उत्तर खण्ड हेर्न बझाङको चैनपुरमा योजना कार्यालय राखिएका छन । 

दक्षिण तर्फको २०४ किलोमिटर मध्ये १३६ किलोमिटर र उता सेती राजमार्ग (उत्तर खण्ड) को १५५ किलोमिटर मध्ये ७६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिएको छ । 

यो राजमार्ग दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनलाई जोड्ने उद्देश्यले निर्माण भैरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update