Hamro Patra
गोदाममै थन्कियो खाद्यको चामलः नयाँ धान राख्ने ठाउँको अभाव

बर्दिया, मंसिर ५
बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) द्वारा उत्पादित करिब २५ हजार क्विन्टल चामल अहिले पनि गोदाममै थन्किएको छ । चामल थन्किएपछि नयाँ धान खरिदको सिजन चलिरहेका बेला धान भण्डारण गर्न भने ठाउँ अभाव भएको छ । 

खाद्य कम्पनी राजापुर शाखाले गत वर्षदेखि स्थानीय किसानबाट धान खरिद गरी चामल उत्पादन गरेको थियो । उत्पादन भएको चामल वितरण प्रक्रिया सुस्त भएकाले अहिले स्टक अत्यधिक बढेको शाखा प्रमुख कमलराज पाण्डेले बताए । उनका अनुसार बजार माग स्थिर रहँदा चामल स्टक घट्न नसक्दा नयाँ धान राख्ने ठाउँसमेत अभाव भएको हो ।

किसानले बिक्रीका लागि धान लिएर आउने समय भएकाले गोदाम क्षमता अभावले धान खरिद प्रक्रियामा नै ढिलाइ हुन थालेको छ । स्थानीय किसानले कम्पनीले ठाउँ नभएको भन्दै ढिलाइ गरिरहेकाले बेच्न नसकिएको बताएका छन् । किसानले सरकारकै स्वामित्वको संस्थाबाट यस्तो अव्यवस्थाले पीडा भएको बताएका छन् ।

कम्पनीको राजापुर शाखासँग अहिले धान चामल भण्डारणका लागि सीमित गोदाम क्षमता छ । गोदाम विस्तार तथा आधुनिकीकरणको योजना भने अझै कागजमै अड्किएको स्थानीय कर्मचारीले बताएका छन् । शाखाका एक कर्मचारीले भने ‘हामीले गोदाम विस्तार प्रस्ताव धेरै पटक पठाइसक्यौँ तर बजेट नआएपछि वर्षौंंदेखि यथास्थितिमा छौँ ।’

कम्पनीले सामाजिक सुरक्षा कार्यक्रम, विद्यालय मध्याह्न भोजन तथा सरकारी वितरण योजना अन्तर्गत चामल वितरण गर्दै आएको छ तर सम्बन्धित निकायले माग गरेको परिमाण समयमै नआउँदा गोदाममा थन्किएको चामल नघटेको शाखाको भनाइ छ ।

शाखा प्रमुख पाण्डेका अनुसार वितरण सहज भएको भए अहिले गोदाम खाली हुने थियो । ढिलाइ हुँदा नयाँ उत्पादन स्टोर गर्न नै चुनौती भइरहेको छ । किसानले सही समयमा धान खरिद नहुँदा आर्थिक भार बढेको बताउँदै आएका छन् ।

बजारमा निजी व्यापारी मूल्य कम प्रस्ताव गर्ने भएकाले उनीहरू सरकारी संस्थामै बेच्ने चाहना राख्छन् तर त्यसका लागि कम्पनीले गोदाम र व्यवस्थापन सुधार गर्नु अत्यावश्यक रहेको उनीहरूको माग छ ।

समस्या समाधानका लागि शाखाले अस्थायी रूपमा भाडाको गोदाम लिनुपर्ने विकल्पमा छलफल गरिरहेको जनाएको छ । साथै उच्चस्तरीय कार्यालयसँग चाँडो वितरण र अतिरिक्त बजेटको माग गरिएको पनि बताइएको छ ।

हालसम्म खाद्यले बर्दियामा १८ हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेको छ । खाद्यले राजापुरमा मात्र ९ हजार ३ शय क्विन्टल धान खरिद गरेको छ । राजापुरमा मात्र ११ हजार क्विन्टलभन्दा बढी धान खरिद हुने अनुमान गरिएको छ तर १० हजार क्विन्टल क्षमताको मात्र गोदाम खाली छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update