Hamro Patra
नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेशमा जान तयार छः डाक्टर भीम रावल

धनगढी, मंसिर ६
नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीमबहादुर रावलले आफूहरू ताजा जनादेशमा जान तयार रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ समर्थन लिएर बहुमत ल्याएर राज्य सञ्चालन गर्ने बताए । उनले निर्वाचनका लागि अहिलेको अन्तरिम सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने जिकिर गरे ।  

धनगढीमा पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उनले मतदाताले स्वतन्त्र भएर भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने बताए । 

उनले भने 'सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन् । कैयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन । देशलाई अहिलेको विषम परिस्थितिमा राष्ट्रलाई बचाउनका लागि, नेपाली जनतालाई कष्टबाट जोगाउनका लागि, नेपाली जनताको स्वाधीनता, राष्ट्रको अखण्डताको रक्षाका लागि लाग्नुपर्ने बेला आएको छ ।'

नेपाली कम्युनिष्ट पार्टीले मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा गर्ने भएको छ । त्यसैको तयारीका लागि छलफल कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update