Hamro Patra
टीकापुर महोत्सवको तयारी तिब्र 

टीकापुर, मंसिर ९
टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८२ आयोजना गर्ने भएको छ । संघले पत्रकार सम्मेलन गर्दै पौष २९ देखी माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको छ । 

संघले विगत २०६५ सालदेखी महोत्सवको आयोजना गर्दै आईरहेको छ । संघका अध्यक्ष सन्तोष खड्काले महोत्सवको तयारी सुरु भैसकेको जानकारी दिए । उनले महोत्सव सञ्चालनका लागि कार्य समितिका पदाधिकारी र सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको बताए । 

महोत्सवमा २५० स्टल रहने छन । ती स्टलमा कृषि उत्पादन, औद्योगिक उपकरण, इलेक्ट्रिक सामान, फर्निचर, दैनिक उपभोग्य, लुगाकपडा, जडिबुटी, हस्तकला लगायतका सामाग्री प्रदर्शन गरिनेछन । 

यसका साथै महोत्सवमा विभिन्न होटल समेत रहनेछन । ती होटलमा स्थानीयस्तरमा उपलब्ध खाजानास्ताका परिकारहरु उपलब्ध हुनेछन । 

महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताका साथै राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहने छ । त्यस्तै महोत्सवमा उत्कृष्ट स्टललाई पुरस्कृत, स्टलहरूको २ करोड रूपैयाको विमा समेत गरिने छ । स्थानीय ब्यापारीलाई २५ प्रतिशत स्टल भाडा छुट दिने अध्यक्ष खड्काले जानकारी दिए । 

महोत्सवमा कृषि प्रदर्शनी, विज्ञान प्रदर्शनी, रमाइलो मेला समेत रहनेछ । संघले महोत्सव अवलोकन गर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ । 

संघले महोत्सवका माध्यमबाट सरकार समक्ष विभिन्न माग राख्दै आएको छ । ती मध्ये कतिपय माग पूरा भैसकेका छन भने कतिपय पूरा हुने क्रममा छन । संघले महोत्सवका माध्यमबाट उठाएका प्रमुख माग मध्ये लम्की टीकापुर खक्रौला सडक पनि हो । जुन सडक निर्माणको अन्तिम चरणमा छ । 

त्यस्तै संघले अघि सारेको मध्येको सत्ती भन्सार कार्यालय मुल भन्सार, कुईनेस्थित कर्णाली नदीमा पक्की पुलको काम भैसकेको छ । त्यस्तै संंघले चिसापानी जंगलघाट मंगलसेन सडक निर्माण, डल्फिन क्षेत्रको प्रवद्र्धन र एक गाउँ एक उत्पादनको नीति अनुरुप केरालाई प्रवद्र्धन गरी टीकापुरलाई केराको हबका रुपमा विकास गर्नुपर्ने माग राख्दै आईरहेको छ । 

महोत्सवमा अवलोकनका लागि कैलालीको पूर्वी क्षेत्रका बासिन्दा मात्रै नभई छिमेकी जिल्ला बर्दिया, सुर्खेतका साथै छिमेकी मुलुक भारतबाट समेत आउने गरेका छन । यसवर्ष समेत महोत्सव १० लाखले अवलोकन गर्ने महासचिव प्रकाश तिमिल्सेनाले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update