टीकापुर, मंसिर ९
टीकापुर सामुदायिक सेवा केन्द्रको अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले आज सार्वजनिक गरेको उम्मेदवारहरुको नामावलीमा अध्यक्षमा ताराप्रसाद अधिकारी र कल्पेश कुँवरको उम्मेदवारी परेको उल्लेख छ ।
अधिकारी वर्तमान कार्य समितिको उपाध्यक्ष र कँुवर सदस्य रहेका छन । दुवैजना नेपाली काँग्रेस समर्थक हुन । उनीहरुबिच सहमतिको प्रयास सफल नभएपछि दुवै जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
केन्द्रको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा भने सबैजनाको एकल उम्मेदवारी परेको छ । उनीहरु सबैजना निर्विरोध निर्वाचित भएका छन । निर्वाचित हुनेमा उपाध्यक्षतर्फ ज्ञानेन्द्रबहादुर शाह, सचिवतर्फ नेत्रबहादुर बोहरा, सहसचिवतर्फ मुक्तिलाल आचार्य र कोषाध्यक्षतर्फ आशा भण्डारी रहेका छन ।
त्यस्तै सदस्यमा समेत निर्वाचन हुने भएको छ । चार जना सदस्यमा पाँच जनाको उम्मेदवारी परेको छ । सदस्यमा उम्मेदवारी दिनेमा लक्ष्मण चौधरी, निरञ्जन रावल, लक्ष्मी चलाउने, चक्रबहादुर ठकुल्ला र गणेश भट्ट रहेका छन ।
निर्वाचन अधिकृत चक्र तिमिल्सिनाले मंसिर ११ गते मतदान हुने जानकारी दिए । उनले मतदान कार्य बिहान ८ बजेदेखी ३ बजेसम्म रहने बताए । मतदानमा केन्द्रका ७६१ सदस्यले भाग लिनेछन । टीकापुर सामुदायिक पुस्तकालय भवनमा मतदानस्थल तोकिएको छ ।




