Hamro Patra
शुरु भयो टीकापुर एक्सप्रेस सेवा

टीकापुर, मंसिर १५

यातायातमा अग्रणी संस्था सुन्दर सुदुरपश्चिम यातायात प्रालिले भिआइपी सोफा सिट भएको टीकापुर एक्सप्रेस बस सेवा शुरु गरेको छ ‌।

टीकापुरदेखि काठमाडौंसम्म जाने यात्रुलाई लक्षित गर्दै प्रालिले भिआइपी सोफा सिट भएको टीकापुर एक्सप्रेस बस सेवा शुरु गरेको हो ।

बस सेवाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले निजी संस्थाको लगानी बिना विकासको परिकल्पना गर्न नसकिने बताएका  छन् ।

'देश विकासको प्रमुख मेरुदण्ड निजि संस्था हुन । निजि संस्थाको लगानी विना समृद्धिको परिकल्पना पनि गर्न सकिँदैन' नगर प्रमुख थारुले भने, 'राज्यले निजि क्षेत्रको लगानीमा संरक्षकको भुमिका गरेर उहाँहरुको हौसला बढाउने काम गर्नुपर्छ ।'

नगर प्रमुख थारुले विकासका लागि महत्त्वपूर्ण साधन यातायात भएको बताउँदै पछिल्लो समय यातायात व्यवसायीले यात्रुहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण प्रसाद रिमालले पछिल्लो समय यातायात क्षेत्रको विकासलाई लिएर ठूलो परिवर्तन भएको उल्लेख गरे ।

कार्यक्रममा पुराना बस व्यवसायी पदमसिंह बमलाई सम्मान समेत गरिएको थियो । टीकापुरमा पहिलो पटक २०३४ सालमा सुदुरपश्चिम यातायातबाट बस सेवा सञ्चालन गरेर आवागमनलाई सहज गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रालिले बमलाई सम्मान गरेको थियो । 

यात्रुहरुको मागलाई मध्यनजर गर्दै स्तरीय टीकापुर एकसप्रेस बस सेवा सुरु गरिएको प्रालिका अध्यक्ष पदम प्रसाद सापकोटाले बताए । 

प्रालिले टीकापुर रुटमा स्तरीय भिआइपी सोफा सिट भएका पाँचवटा बस सञ्चालन गरेको छ । ती बसले दैनिक रुपमा सेवा दिने टीकापुर इन्चार्ज भरत रावलले जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update