Hamro Patra
देश चरम संकटमा छ: डाक्टर रावल

टीकापुर, मंसिर २१

नेपाली कम्युनिष्ट पार्टीका नेता डाक्टर भीम रावलले देश चरम संकटमा रहेको बताएका छन् । 

टीकापुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर रावलले देशमा आर्थिक संकट, युवा पलायन र शान्ति सुरक्षाको अवस्था कमजोर भएकाले देश चरम संकटमा रहेको बताएका हुन् । 

'युवाहरु देशमा बस्न मानिरहेका छैनन्, आर्थिक संकट त्यस्तै छ, त्यो भन्दा पनि महत्वपूर्ण कुरा शान्ति सुरक्षा निकै कमजोर भएको छ' डाक्टर रावलले भने 'देशमा भएको जेनजी आन्दोलनमा हाम्रो शान्ति सुरक्षा दुई दिन पनि टिक्न सकेन, त्यसैले देश निकै संकटमा परेकाले हामी सबै जिम्मेवार हुन आवश्यक छ ।'

आन्दोलनमा अर्बौंको संरचना ध्वस्त भएको उल्लेख गर्दै डाक्टर रावलले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार समेत बचाउन नसकेको  बताए । 

'सिंहदरबार नेपाली जनताको शासन र स्वाधिनताको प्रतीक हो, त्यो जल्दा समेत बचाउन नसकेर तत्कालीन प्रधानमन्त्री ओली सेनाको शरणमा परेर भाग्नु पर्ने स्थिति आयो' डाक्टर रावलले भने 'यो घटनाबाट देशलाई जोगाएर देश र जनताको हितमा काम गर्न यो पार्टीमा आएको हो ।'

जेनजी आन्दोलनको बलमा स्थापित सुशीला कार्की नेतृत्वको सरकारले समेत आन्दोलनको म्याण्डेट अनुसार काम गर्न नसकेको डाक्टर रावलको जिकिर थियो ।

डाक्टर रावलले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको घटना अनुसन्धान र दोषी उपर कारवाही गर्न र चुनावको वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नेपबहादुर चौधरी र गीता सोडारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update