टीकापुर, मंसिर २१
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सल्लाहकार र लेखा समिति नियुक्तिप्रति संस्थाका सचिवसहित तीन जनाले आपत्ती जनाएका छन् ।
संस्थाका सचिव प्रकाश खड्का, सदस्यद्धय बमबहादुर ओली र जाल्पा भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सल्लाहकार र लेखा समिति एक्लौटी र पूर्वाग्रही ढंगले गरेको र माइन्युटमा नोट अफ डिसेन्ट लेख्दा समेत बेवास्ता गरेको भन्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा 'संस्थामा पारदर्शिता, सुशासन कायम र उपभोक्तालाई सहुलियत खानेपानी दिलाउनु साटो उपभोक्ताहरुले निर्वाचित गराएर पठाएकाहरुको समेत अपमान हुने गरी गरिएका निर्णयहरु, फरक मत राख्नेहरुप्रति गरिएको व्यवहार र आधिकारिक माइन्युट संस्थाका सचिवसँग हुँदाहुँदै अर्को माइन्युट बनाई हामीलाई थाहा नदिई गरिएका यस्ता निर्णयहरुप्रति हामी कार्यसमितिका तपसिलका व्यक्तिहरु यसै विज्ञप्तिमार्फत् असहमति रहेको जानकारी गराउँदै ध्यानाकर्षण गराउँदछौं भनिएको छ ।'




