Hamro Patra
राजापुरमा गोली हानी युवकको हत्या

टीकापुर, मंसिर २२
बर्दियाको पश्चिमी क्षेत्र राजापुरमा एक युवकको गोली हानी हत्या भएको छ । हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का २८ वर्षीय निरज चौधरी छन् । आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका–४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो ।

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार निरजको गोली हानेर हत्या गरिएको अनुमान छ । घटनापछि उनलाई बाँकेको नेपालगंजस्थित नरसिंङ होममा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपछि बल्ल बाँके प्रहरीले घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियालाई खबर गरेको बर्दियाका प्रहरी निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए । 

हत्या गरिएका चौधरीको गालामा दुई तर्फ गोलीले छेडेको जस्तो खत देखिएको छ। गोली प्रहार भए नभएको यकिन पोस्टमर्टम रिपोर्टपछि खुल्ने इन्स्पेक्टर कार्कीले बताए ।

अस्पताल पुर्‍याइएपछि मात्रै घटनाबारे जानकारी पाएको प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढाएको थियो । इन्स्पेक्टर कार्कीका अनुसार हालसम्म घटनामा संलग्न रहेको आशंकामा दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त भने फरार छन् । कार्कीका अनुसार ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट का संचालकले नै निरजको हत्या गरेको खुलेको छ । उनी पनि दाङकै रहेको कार्कीले बताएका छन् ।

निरज ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’को नजिकै पोल्ट्री फार्म संचालन गर्दै आएका थिए । विगतमा ‘हमार थारू घर एण्ड रेस्टुरेन्टका संचालक चौधरी र निरज सँगै बस्थे ।

‘हत्या गरिएका निरजलाई हत्या  फरार रहेका आरोपीले विदेश पठाइदिने भनेर पैसा लगेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ,’ एसपी पौडेलले भने ‘त्यही पैसा माग्दा आपसमा विवाद भएको र होटेल भित्रै गोली हानेर साहु फरार भएको भन्ने हालसम्मको अनुसन्धानबाट खुलेको छ ।’

एसपी पौडेलका अनुसार निरजमाथि गोली प्रहार गरिसकेपछि रेस्टुरेन्ट सञ्चालकले नै  कसैलाई थाहा नदिई  घाइते भएको भनेर उपचारका लागि दुई जनालाई अस्पताल लैजान लगाएका थिए । उनले नजिकैको जिल्ला अस्पताल नपठाएर टाढा नेपालगन्जमा रहेको नर्सिङ होममा पठाएका थिए । 

प्रहरीले रेस्टुरेन्टका कर्मचारीसँग पनि सोधपुछ गरेको थियो । एक कर्मचारीले निरज पैसा माग्न आइतबार त्यहीँ गएका थिए । त्यस क्रममा विवाद बढेपछि फरार आरोपीले बन्दुक ताक्दा ‘एक्सिडेन्ट्ली’ गोली चल्न पुगेको भन्ने बयान दिएका छन् ।

हत्या गरिएका निरजका बाबु आमा रोजगारीको खोजीमा छिमेकी देश भारतमा बस्दै आएको हुँदा उनीहरु आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update