टीकापुर, मंसिर २३
नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आकांक्षी उम्मेदवारको नामावली संकलन गरेको छ । पार्टीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकका साथै राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन चाहने व्यक्तिको नामावली संकलन गरेको हो ।
प्रत्यक्षतर्फ चार जनाले उम्मेदवारका लागि आफ्नो नाम दर्ता गराएका छन । प्रत्यक्षतर्फको उम्मेदवारका लागि नाम दर्ता गर्नेमा काँग्रेस केन्द्रिय सदस्यत्रय ईश्वरी न्यौपाने, रामजनम चौधरी र डा. रणबहादुर रावल, सुदूरपश्चिम प्रदेश समितिका उपसभापति जनकराज चौधरी र बुद्धिसागर चौधरी रहेका छन ।
त्यस्तै समानुपातिकतर्फ आठ जनाले उम्मेदवार हुन नाम दर्ता गराएका छन । उम्मेदवारका लागि नाम दर्ता गर्नेमा बिरबहादुर हमाल, धिजराज रेग्मी, उमादेवी बादी, अकबर अली कुरेसी, राजेशकुमार टमट्टा, बिर्ख रावल, केशरी रावल बिष्ट र सुशीला स्वाँर रहेका छन ।
निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको तयारी गरिरहेको छ । वर्तमान सरकारले जसरी पनि निर्धारित मितिमा निर्वाचन गर्नुपर्ने भन्दै आएको छ । सरकारले राजनीतिक दलहरुसँग निर्वाचनको वातावरणका लागि छलफल तिब्र पारेको छ ।
त्यस्तै राष्ट्रिय सभाका लागि तीन जनाले नाम दर्ता गरेका छन । नाम दर्ता गर्नेमा फकिरसिँह कडायत, नृप खड्का र जगनाथ रिमाल रहेका छन । निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनको मिति तय गरेको छ ।
काँग्रेस केन्द्रिय समितिले आकांक्षी उम्मेदवारको नाम संकलन गर्न निर्देशन दिए अनुसार नामावली संकलन गरिएको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सचिव धनञ्जय रिमाल (फकिर) ले जानकारी दिएका छन । उनले केन्द्रले १ महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको बताए ।
उनले प्राप्त नामावली उपर छलफलका लागि क्षेत्रीय कार्य समितिको बैठक बस्ने तयारी भैरहेको बताए । उनले सकेसम्म सहमति गरेरै केन्द्रको निर्देशन अनुसार नाम सिफारिस गरिने नत्र प्राप्त भएका सबै नाम जिल्ला कार्य समितिमा पठाईने जानकारी दिए ।




