Hamro Patra
राष्ट्रिय मावि सुख्खडको जमिन खाली गराउन पत्राचार

घोडाघोडी, मंसिर २४
कैलालीको एक विद्यालयको जग्गा लामो समय उपभोग गरेर भाडा नतिरेपछि सो जग्गा खाली गराउन सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

घोडाघोडी नगरपालिकाको मुटु मानिने वडा नम्बर १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जमिनमा २२ वर्षदेखि स्थानीयले भाडामा व्यापार तथा बसोबास गर्दै आएका छन्‌ । सुखड बजारको आधाभन्दा बढी जमिन विद्यालयको नाममा छ ।

राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको सुखडको पूर्वी क्षेत्रको कित्ता नम्बर २५१ को एक बिघा १२ कट्ठा क्षेत्रफल भएको जग्गा लामो समयदेखि व्यापारीले घरटहरा बनाएर विद्यालयलाई भाडा तिर्ने सर्तमा बसे पनि हालसम्म भाडा पनि तिरेको छैन, जग्गा पनि खाली गरेको छैन । सो जग्गा खाली गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई समन्वयका लागि पत्र पठाएको शिक्षा मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले बताए । 

सोमबार पठाइएको पत्रमा लामो समयदेखि विद्यालयमा तिर्नुपर्ने रकम नतिरेकाले विभिन्न मितिमा सम्मानित अदालतबाट भएको आदेश अनुसार जग्गा खाली नगरी सरकारी जमिन कब्जा गरी बसिरहेकाले सो जग्गा खाली गरी विद्यालयले उपयोग गर्ने कार्यमा आवश्यक समन्वय गरिदिन अनुरोध गरिएको उनले बताए । 

शिक्षा मन्त्रालयको सचिवस्तरको निर्णयले गृह मन्त्रालय अनुरोध गरिएको उपसचिव पोखरेलले जानकारी दिए । १ शय ७० जना व्यापारी तथा बसोबासका लागि प्रयोग भएको जमिनको केहीले नियमित भाडा तिर्दै आए पनि धेरै जसोले लामो समय भाडा नतिरेको रेकर्ड विद्यालयमा छ । वि

द्यालयले भाडा उठ्न बाँकीको सूचि विद्यालयले बेला बेला सार्वजनिक गर्दै भाडा उठाउन ताकेता गरे पनि भाडा उठ्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले बताए । विद्यालयको रेकर्डमा करिब डेढ करोड रुपियाँ भाडा उठ्न बाँकी देखिन्छ । एउटै व्यक्तिले चार लाखदेखि छ लाखसम्म भाडा तिर्न बाँकी रहेको उनले बताए ।

अध्यक्ष हमालले विद्यालयको सम्पत्ति प्रयोग गरेर शर्त अनुसार भाडा नबुझाएकासँंग भाडा उठाउन तथा जमिन खाली गर्ने प्रक्रियाका लागि अदालतसमेत धाएको बताए । विद्यालयको जग्गामा संरचना नै बनाएर व्यापार व्यवसाय तथा बसोबास गर्नाले विद्यालय प्रयोजनका संरचना निर्माणमा कठिनाइ भएको छ । 

२०७५ सालमा सुदूरपश्चिम प्रदेशकै एक मात्र नमुना विशेष विद्यालय सञ्चालनका लागि सो विद्यालयमा सरकारको ठुलो योजना परेको भए पनि विद्यालयको जग्गा खाली नहुँदा काम ढिला सुरु भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update