महेन्द्रनगर, मंसिर २५
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० मतदाता थपिएका छन् । जेनजी आन्दोलनपछि संसद विघटन भएर निर्वाचन घोषणा भएपछि सुदूरपश्चिमका ९ जिल्लाबाट ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराउने यीमध्ये अधिकांश युवाहरू उमेर समूहका छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार कैलाली र कञ्चनपुरमा अन्य जिल्लाको तुलनामा बढी मतदाता थपिएका छन् । कैलालीमा सबैभन्दा बढी १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । २०८१ चैत्र मसान्तसम्म कैलालीमा १८ वर्ष उमेर पुगेका मतदाताहरुको संख्या ५ लाख ३५ हजार ३४४ छ ।
कञ्चनपुरमा १२ हजार २९१ जना मतदाता थपिएका छन् । चैत्र मसान्तसम्म कञ्चनपुरमा मतदाताको संख्या ३ लाख ३ हजार ४५७ छ । बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् ।
यस्तै, डडेल्धुरामा १ हजार ९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७ र बाजुरामा १ हजार ५१७ नयाँ मतदाता थपिएका छन् ।
यो सँगै सुदूरपश्चिम कुल मतदाता संख्या १७ लाख २० हजार ६४३ पुगेको छ । चैत्र मसान्तसम्म सुदूरपश्चिमा १८ वर्ष पुगेका मतदाताको संख्या १६ लाख ७४ हजार ६२३ रहेको थियो ।
मतदाता नामावली संकलन भएसंगै निर्वाचन कार्यालयहरुले निर्वाचनको तयारी पनि अघि बढाएका छन् । भट्टका अनुसार अहिले मतदान केन्द्रको अनुगमनको गर्ने काम चलिरहेको छ । मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए ।




