टीकापुर, मंसिर २९
टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाले आज सय दिने प्रगति विवरण सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष खडक धामीले प्रगति प्रतिवेदन पेश गरेका छन ।
उनले पेश गरेको प्रतिवेदन अनुसार संस्थाले चालु आर्थिक वर्षको हालसम्म ९८ लाख ७३ हजार ८२६ रुपैयाँ बचत गरेको छ । संस्थाले १ करोड ७६ लाख ९ हजार ३५४ रुपैयाँ आम्दानी गरेकोमा ७७ लाख ३५ हजार ५२८ रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाले खानेपानी महशुलबाट १ करोड ३८ लाख १० हजार ७३ रुपैयाँ, धारा जडान शुल्कबाट ३३ लाख ५१ हजार ११५ रुपैयाँ र अन्य विविधबाट ४ लाख ४८ हजार १६६ रुपैयाँ आम्दानी गरेको छ ।
संस्थाले २६६ वटा नयाँ धारा जडान गरेको छ । जसमध्ये २०२ धारा छुट रकममा जडान गरिएका छन भने ६४ वटा धारा पूरानै शुल्कमा जडान गरिएका छन । संस्थाका अध्यक्ष धामीले केही धारा लक्षित वर्गलाई किस्ताबन्दीका आधारमा जडान गरिएकाले धारा जडान वाफत आम्दानी हुने रकममा फरक परेको जानकारी दिए । वर्तमान कार्य समितिले धारा जडान शुल्कलाई १८ हजारबाट घटाएर १५ हजार निर्धारण गरेको छ । संस्थाले यस क्रममा २ हजार ७५० मिटर पाइप लाइन बिस्तार गरेको छ ।
संस्थाले पाइप फिटिङ तथा अन्य खरिद शिर्षकमा १० लाख ५१ हजार ७ सय रुपैयाँ र फर्निचर खरिदमा ५६ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै संस्थाले कर्मचारी तलब भत्ता, विद्युत महशुल, इन्धन, पाईप विस्तार, ज्याला, स्टेशनरी, साधारण सभा, चन्दा तथा दान, अतिथि सत्कार, मर्मत सम्भार लगायतका शिर्षकमा ६६ लाख २७ हजार ८२८ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कुमारी बैंकमा १ करोड १ लाख ८१ हजार ८५८ रुपैयाँ र अन्य बैंकमा १५ लाख ६० हजार ३९३ रुपैयाँ गरी १ करोड १७ लाख ४२ हजार २५१ रुपैयाँ बचत रहेको बताईएको छ । संस्थाले मुद्दती खातामा १ करोड ५० लाख रुपैयाँ रहेको बताएको छ ।
अध्यक्ष धामीले पानीको महशुल वृद्धी नगरी संस्थालाई नाफामा लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले संस्थामा देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने बताए । उनले पूर्व पदाधिकारीको पेश्की असुलीका बारेमा पत्राचार भैरहेको जानकारी लिए । ‘हामीले ताकेता गरिरहेका छौं’ उनले भने–‘यो अघिल्लो कार्य समितिले टुंगो लगाएको विषय हो ।’
उनले आफ्नो कार्य समितिको पाँच पटक बैठक बसेको बताए । उनले कार्य समितिका बिच भएको विवादलाई समाधान गर्ने बताए । उनले कार्य समितिका पदाधिकारी र कर्मचारी लगायतले सामाजिक सञ्जालमा लेख्ने कुरा उनीहरुको व्यक्तिगत कुरा भएको जानकारी दिए ।
उनले उपभोक्ताले धमिलो पानीका बारेमा राखेको जिज्ञासामा पाइप लाईन विस्तारका कारण समस्या भैरहेकोले यसको विकल्पका बारेमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष नवराज रावल, निवर्तमान अध्यक्ष सृजना शर्मा पण्डित लगायतले बोलेका थिए । उपभोक्ताहरुले संस्थाका गतिविधिका बारेमा सुझाव दिएका थिए । उनीहरुले संस्थामा विवाद नगरेर अघि बढ्न सुझाव दिएका छन ।
वर्तमान कार्य समितिका पदाधिकारीहरुबीच भैरहेको विवाद प्रति उपभोक्ताले चिन्ता व्यक्त गरेका छन । उनीहरुले संस्थामा भैरहेको विवादका कारण कुनै हानी नोक्सानी भए त्यसको जवाफदेही हुनुपर्ने बताएका छन ।




