टीकापुर, पौष १७
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन् । मतदाताको संख्या, पायक पर्ने स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
यसअघि सुदूरपश्चिममा १ हजार १ शय ३५ मतदान स्थल रहेकोमा फागुन २१ गतेको निर्वाचनका लागि थप ४१ मतदान स्थल थपिएको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
थपिएका मध्ये सबैभन्दा बढी २४ मतदान स्थल डडेल्धुरामा थप भएका छन् । हाल १ शय ४ मतदान स्थल कायम गरिएको छ । त्यस्तै ७० मतदान स्थल रहेको बाजुरामा ५ मतदान स्थल थपिएका छन् ।
उता, डोटीमा ३ मतदान स्थल थपेर १ शय १८ कायम गरिएको छ भने कैलालीमा २ मतदान स्थल थपेर २ शय ३७ मतदान स्थल कायम गरिएको छ ।
पहाडी जिल्ला दार्चुलामा २ मतदान स्थल थपेर १ शय १२ कायम गरिएको छ भने बझाङ, कञ्चनपुर र अछाममा भने मतदान स्थलमा थपघट भएको छैन । बझाङमा १ शय ३३, अछाममा १ शय ३०, कञ्चनपुरमा १ शय ३२ मतदान स्थल रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सत्र लाख मतदाता
सुदूरपश्चिम कुल मतदाता संख्या १७ लाख १५ हजार ७ शय ६० पुगेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा सबैभन्दा बढी मतदाता छन् भने बाजुरामा सबैभन्दा कम छन् ।
कैलालीमा ५ लाख ५१ हजार ५२, कञ्चनपुरमा ३ लाख १४ हजार ३ शय ८५, बैतडीमा १ लाख ५६ हजार ३ शय ७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।
यस्तै डडेल्धुरामा ९३ हजार ४ शय ३, बझाङमा १ लाख २६ हजार ९ शय ३, अछाममा १ लाख ६५ हजार ३ शय ३७, डोटीमा १ लाख २८ हजार ३ शय ९९ र बाजुरामा ८६ हजार ९ शय ६१ गरेर जम्मा मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका भट्टले दिएको जानकारी अनुसार कुल मतदाता मध्ये पुरुष ८ लाख ५१ हजार ३ शय १९ र महिला ८ लाख ६४ हजार ४ शय २३ रहेका छन् भने अन्य १८ जना रहेका छन् । २०७९ को निर्वाचनमा प्रदेशमा मतदाताको संख्या १६ लाख ६९ हजार ४ शय ११ रहेको थियो ।




