टीकापुर, पौष २९
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आदेखी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको एक समारोहकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समुद्घाटन गरेका छन ।

महोत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा टीकापुरमा स्थापना हुने भनिएको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि नागरिकस्तरबाट दवाव सिर्जना गर्न आग्रह गरेका छन ।
उनले प्रदेश सरकारले विश्वविद्यालयको विधेयक पारित गरेर सदनमा पेश गरेको जानकारी दिए । उनले सदनमा टेबल हुन ढिलाई भएकाले विश्वविद्यालय स्थापनाको काम समयमा हुन नसकेको बताए ।
‘टीकापुरको नेतृत्वले जिम्मेवार रुपमा पहल गर्न पर्यो’ उनले भने–‘हामीले आफ्नो पक्षबाट काम गरेका छौं ।’
उनले टीकापुरबासीको साथ बिना विश्वविद्यालय स्थापनाको काम अघि बढ्न नसक्ने बताए । उनले विश्वविद्यालय स्थापना टीकापुरका लागि ठूलो उपलब्धी हुने बताए । मुख्यमन्त्री शाहले टीकापुरले शैक्षिक नगरीका रुपमा पाएको परिचयलाई साकार पार्न आवश्यक रहेको बताए ।
उनले निजी क्षेत्रको साथ बिना सरकार एक्लै अघि बढ्न नसक्ने बताउँदै निजी क्षेत्र र सरकार सँगसँगै हिड्नुपर्नेमा जोड दिए ।
उनले जेन्जी आन्दोलन पश्चात लगानीको वातावरण सकिएको महशुस भैरहेको बेला सरकारले आफ्नो काम कारवाही मार्फत फेरी उठ्ने प्रयास भैरहेको बताउदै उनले सरकारले करेक्सन गर्नुपर्ने जरुरी देखिएको बताए ।
उनले वर्तमान संविधान भन्दा अलग भएर गन्तव्यमा पुग्न नसकिने बताउँदै संविधानको अधिनमा रहेर निर्वाचन सम्पन्न गर्न सबैको पहल हुनुपर्ने बताए । उनले नयाँ जनादेशबाट प्राप्त हुने सरकारले सबैखाले बेतिथिको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
सोही समारोहमा विशिष्ट अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताए । उनले सरकारको साथ भए मात्रै निजी क्षेत्र फस्टाउने बताए ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनार, टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, पूर्वमेयर तपेन्द्रबहादुर रावल, वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्ला, टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज रावल लगायतले बोलेका थिए ।
महोत्सवको उद्घाटन समारोहमा टीकापुर उद्योग वाणिज्य संघले लामो समयदेखी कर्णाली नदीमा पानीको सतह मापनको जिम्मेवारी निर्वाह गर्दै आएकी गेजरिडर पार्वती गुरुङलाई सम्मान गरेको छ । उनले वर्षायाममा कर्णाली नदीमा पानीको सतहका बारेमा तटीय क्षेत्रमा ७७ वटा समुदायका हजारौं बासिन्दालाई सूचना दिने काम गर्दै आएकी छन । उनको काम निकै जोखिमपूर्ण रहेको छ ।

संघले मुख्यमन्त्री शाह समक्ष छ बुँदे माग प्रस्तुत गरेको छ । संघले प्रस्तुत गरेका मागहरुमा टीकापुर प्राविधिक विश्वविद्यालय स्थापना, टीकापुरमा यातायात कार्यालय स्थापना, छिमेकी मुलुक भारतसँगको आयात निर्यात बढाउन सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना, कर्णाली नदी कटान नियन्त्रणका लागि नेपाल सरकार समक्ष पहल, टीकापुरमा औद्योगिक क्षेत्र स्थापना र केरा खेतीको पकेट क्षेत्र घोषणा रहेका छन ।
महोत्सव उद्घाटन समारोहमा टीकापुर प्राज्ञिक समाजले समेत टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएको छ ।
सोही अवसरमा देउडा गायक दिपक धितालको पहिलो देउडा देउरो ठूलो डोटीको विमोचन गरिएको छ । मुख्यमन्त्री शाहले देउडा गीतको विमोचन गरेका हुन । सोही अवसरमा बोल्दै देउडा गायक धितालले गीत सुनेर साथ दिन आग्रह गरेका छन ।
संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य उपाध्यक्ष दिपेन्द्र रावलले राखेका थिए भने सञ्चालन महासचिव प्रकाश तिमिल्सेना र शोभा त्रिपाटीले गरेका थिए ।



