कालिकोट, माघ १७
कैलालीबाट निर्वाचन प्रहरीमा भर्ना हुन कालीकोट आएकी टीकापुर नगरपालिका वडा नं. ३ कटानपुरकी १८ वर्षीया इमालुजा चौधरीले सुनेको भन्दा देखेको कालीकोट फरक लागेको बताइन् ।
‘डरलाग्दा पहाड देखेर मुटु नै काँम्यो’ सदरमुकाम मान्म बजार आइपुगेकी उनले अनूभूति सुनाइन्, ‘पहिलो पटक पहाड यात्रा गर्दा चक्कर लाग्यो ।’ भविष्यमा नेपाल प्रहरी बन्ने लक्ष्य भएकाले भर्तीको अनुभव लिन यहाँ आएको उनले बताइन् । ‘कालीकोटमा विकास त भएकै रहेनछ’ उनले भनिन्, ‘तराईको जस्तो हिलोमैलो नभए पनि मान्म बजारमा खानेपानीको अभाव रहेछ ।’
गाउँकै सरस्वती माविबाट २ जीपीएसहित एसईई उत्तीर्ण उनी अहिले स्थानीय रेडियन्ट मन्टेश्वरी इंग्लिस स्कुलमा कक्षा १२ मा पढिरहेकी छन् । दाइ नाता पर्ने कोहलपुरका युवराजकुमार चौधरीले निर्वाचन प्रहरीमा भर्ना हुन उनलाई कालीकोट बोलाएका हुन् । ‘घरमा बस्नुभन्दा पढाइ खर्च जुटाउन आएकी हुँ’ उनले भनिन्, ‘पहाड घुम्ने रहर पनि पूरा भयो ।’
गाउँकै ठेक्कापट्टा गर्ने दाईसँग दैलेख आएका ३० वर्षीय युवराजले कालीकोटमा निर्वाचन प्रहरीमा भर्ना खुलेको जानकारी पाएपछि आफूले मात्र फारम भरेनन्, नजिकका नाता पर्ने अन्य तीन जनालाई पनि कालीकोट बोलाए । ‘म दैलेखको राकमतिर थिएँ’ युवराजले भने ‘ कालीकोटमा धेरै कोटा खुलेको सुनेर छनोट हुने सम्भावना धेरै भएकाले यतै आएँ ।’
वैदेशिक रोजगारीका लागि युवराजले दुईपटक न्यूजिल्याड जाने कोसिस गरे । त्यसका लागि धनगढी उपमहानगर पालिका वडा नं. १८ का अमर सुनारलाई ५ लाख रुपैयाँ बुझाए । सुनारले उनलाई विदेश पठाएनन् । उल्टै रकम ठगी गरेर फरार भए । त्यसपछि ज्याला मजदुरी गर्ने क्रममा दैलेख आइपुगेको उनले सुनाए । ‘पैसाजति दलालले खाइदियो’ उनले भने, ‘ऋण तिर्न सकेको छैन । निर्वाचन प्रहरी भएर घर खर्च जुटाउन सहज होला भनेर यहाँ आएको हुँ ।’
कोहलपुर नगरपालिका वडा नं. ६ का २९ वर्षीय सुरेन्द्र थारु बिरामी परेर कोठामा आराम गरिरहेका छन् । वर्षासँगै भएको हिमपातले चिसो लागेपछि उनलाई रुघाखोकी र ज्वरोले सताएको छ । निर्वाचन प्रहरीमा छनोट भएकी बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ टिटिरियाकी २१ वर्षीया चित्रवती थारुको अनुभव अरूको भन्दा फरक छ । ‘मलाई त यहाँका पहाडै देखेर चक्कर आउलाजस्तो हुन्छ’ उनले भनिन्‘ अजंगका पहाडै पहाडको जिल्ला रहेछ ।’
गाडीमा आउँदा दैलेखको राकम कटेर कालीकोटको सिमाना सुरु हुनेबित्तिकै डरले आँखा चिम्लिएर यात्रा गरेको उनले बताइन् । भीर देखेर चक्कर आएपछि आँखा खोल्न नसकेको उनले बताइन् । १० कक्षासम्म पढेकी चित्रवतीले कालिकोटमा हिउँ परेपछि चिसोले सताएको बताइन् । ‘कालीकोट आएको दुई/तीन दिनसम्म त बाहिर निस्किन पनि डर लाग्थ्यो’ उनले सुनाइन्‘ बिस्तारै बानी पर्ने रहेछ । अब हिँडडुल गर्न, दौडिन पनि बानी परिसके ।’
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन प्रहरी बन्न तराईबाट उनीहरु कालीकोट आएका हुन् । उनीहरुलाई माघ १८ मा नियुक्ति पत्र पाएपछि तालिममा सहभागी गराइने जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । कालीकोटमा १ हजार २ शय ९८ निर्वाचन प्रहरी छनोट भएका छन् ।
कान्तिपुरबाट




