टीकापुर, माघ १८
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ बेलुवाका ४३ वर्षीय विश्राम कुश्मी नर्सरी, केरा, फलफूल एग्रोभेट व्यवसायी थिए । थारु समुदायले भोग्दै आएका समस्याको समाधानसहित थारु पहिचानको माग राख्दै २०७२ भदौमा थारु समुदाय आन्दोलनमा होमियो । त्यही आन्दोलनमा विश्रामले थारु मुद्दा उठाउनु उचित ठानें र आन्दोलनमा होमिए ।
महिनौंसम्म चर्केको थरुहट/थारुवान आन्दोलनले २०७२ भदौ ७ गते टीकापुर घटना घट्यो । असोज ३ गते नेपालको संविधान २०७२ जारी भयो । त्यो संविधानले थारु पहिचानको मुद्दालाई समावेश गर्न सकेन ।
टीकापुर घटनामा संलग्नताको आरोपमा २०७२ चैत्र २२ गते प्रहरीले विश्रामलाई पक्राउ गर्यो । उनको व्यवसाय चौपट भयो । नर्सरी र केरा बारीमै सुके । एग्रोभेट बन्द भयो । तीन वर्ष जेल जीवन बिताएपछि विश्रामले २०७५ फागुन २२ मा सफाई त पाएँ तर भएको सबै गुमाएर । झण्डै तीन करोड बढीको क्षति व्यहोरेका उनी त्यसयता पुनः व्यवसायमै फर्किएका छन् ।
‘थारु पहिचान र मुद्दा सम्बोधन हुनुपर्छ भनेर आन्दोलनमा लागिएको थियो, त्यो हुन सकेन’ विश्रामले भने ‘त्यसयता थारु पहिचानको मुद्दामा नयाँ नयाँ पार्टी आए, थारु समुदायले ती पार्टीलाई जिताउँदा समेत थारु मुद्दा स्थापित हुन सकेनन् ।’
थारु पहिचानसहितको माग राख्दै २०७९ मा टीकापुरबाटै गठन भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा जित हाँसिल पारे पनि थारुहरुको मूल मुद्दा नै ओझेलमा पारिएपछि उनलाई दिक्क लाग्न थालेको छ ।
‘चुनाव आउँदा मात्रै थारुका मुद्दा भजाएर गरिने राजनीतिको कुरा अब बन्द गरिनुपर्छ’ उनले भने ‘पहिचानको मुद्दामा जितेर गएकाहरु समेत व्यक्तिगत स्वार्थ र सत्तामा लिप्त भएपछि थारु पहिचानको मुद्दा नै सकिने अवस्था छ ।’
उनले २०७२ सालको टीकापुर घटनाका पीडितहरुबारे समेत थारु नेतृत्वले वास्ता नगरेको आरोप लगाए । ‘हामीलाई थारु नेतृत्वले समेत वास्ता गर्न छोड्यो, चिन्न समेत छोडिसके’ उनले भने ‘कुनै दलले भन्दा पनि राज्यले नै पीडित थारु समुदायको माग मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’
छिन्नभिन्न थारु नेता
टीकापुर घटनाको जगमा पहिचानको नारासहित २०७९ को स्थानीय, प्रदेश सभा र प्रनिनिधि सभाको निर्वाचनमा क्षेत्रीय शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी स्थापनाको तीन वर्षमै विभाजित भएपछि पहिचानको मुद्दा थप ओझेलमा परेको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा साबिक नागरिक उन्मुक्ति पार्टीमा रहेका नेताहरू आधा दर्जन भन्दा बढी पार्टीबाट उम्मेदवार बनेपछि पहिचानको मुद्दा थप ओझेलमा परेको हो ।
उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेर तराईका जिल्लामा २४ जनालाई चुनावी मैदानमा उतारेका छन् । उन्मुक्ति पार्टीकी अध्यक्ष रहेकी रेशम पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उन्मुक्तिलाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित गरिन् ।
२०७४ को निर्वाचनमा भूमिगत रहेर जित हात पारेका रेशम र २०७९ को निर्वाचनमा ३० हजार मत प्राप्त गरेकी रञ्जिताकै निर्वाचन क्षेत्रमा साबिक उन्मुक्ति पार्टीबाटै विभाजित भएर छ जना उम्मेदवार अलग–अलग पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका रेशमको उम्मेदवारीलाई भने निर्वाचन आयोगले बदर गरिसकेको छ ।
टीकापुर नगरपालिकामा नगर प्रमुखबाट राजीनामा दिएर रामलाल डगौरा थारु नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् भने उन्मुक्तिका अर्का नेता प्रदीप चौधरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । नाउपाकै नेता सरस्वती चौधरी श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी छन् ।
नाउपाकै वरिष्ठ उपाध्यक्ष रहेका दामोदर पण्डितको समूह रास्वपामा विलय भएको छ । कैलाली क्षेत्र नं. १ मा रास्वपाले नाउपाकै कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ । आम जनता पार्टीबाट नाउपाकै नेता रुपा चौधरी समेत चुनावी मैदानमा छन् ।
२०७९ को प्रतिनिधि सभामा कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन वटामा, प्रदेश सभामा ६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र कैलालीकै चारवटा स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए । रञ्जिता श्रेष्ठले कैलाली निर्वाचन क्षेत्र १ बाट विजयी भएकी थिइन् ।
सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात जना सांसद भने अर्को पार्टीमा गए पदमुक्त हुने बाध्यताले रञ्जितासँगै नेपाली कम्युनिष्ट पार्टीमा छन् । टीकापुर, जानकी, जोशीपुर र भजनी गरी चारवटै स्थानीय तह गरी वडाध्यक्ष बाहेक उन्मुक्ति पार्टीबाट १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
थारु समुदायको पहिचानको मुद्दा बोकेर राजनीतिमा उदाएको नागरिक उन्मुक्ति स्थापनाको तीन वर्ष नपुग्दै छियाछिया हुन पुगेपछि थारु पहिचानको मुद्दा ओझेलमा परेको थारु मतदाताहरु बताउँछन् । जोशीपुर गाउँपालिका वडा नं. ३ का रुपेश चौधरी पहिचानको मुद्दा भन्दा व्यक्तिगत स्वार्थले पार्टी टुक्रा टुक्रा भएको बताउँछन् ।
‘पहिले माओवादीले थारुहरुलाई पहिचानको मुद्दा बोक्न सिकायो, माओवादीले पहिचानको मुद्दा छोडेपछि नागरिक उन्मुक्ति उदायो’ उनले भने ‘थारु बाहुल क्षेत्रमा स्थापनाको छोटो समयमै स्थापित भएको पार्टीनै टुक्रा टुक्रा हुनुले थारुको मुद्दा भन्दा व्यक्तिगत स्वार्थ हाबी भएको हो कि ? भन्ने लाग्छ ।’
जानकी गाउँपालिका वडा नं. २ का राजु बम थारु पहिचानको मुद्दा नेता स्थापित गर्नका लागि बनाइएको नारा मात्रै भएको बताउँछन् । ‘पहिचानको नाराबाटै निर्वाचन जितेकाहरु मुख्य मुद्दा बिर्सिएर सत्ता लिप्सामा लागेका छन्’ उनले भने ‘नेता बन्नका लागि पहिचानको नारा दिइएको हो कि ? भन्ने मतदानमा परेको छ ।’




