Hamro Patra
निर्वाचनः सुदूरपश्चिममा कति हुन्छन् प्रहरी परिचालन ?

टीकापुर, माघ १९
फागुन २१ गते हुने भनिएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौती विश्लेषण गर्दै सोही अनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गर्ने जानकारी दिएको हो । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले निर्वाचनका लागि सात हजार ५८ जना प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार प्रहरीसँगै निर्वाचन प्रहरी समेत सहयोगी भूमिकामा खटिनेछ । ९ वटै जिल्लामा १३ हजार ६ शय ६९ जना निर्वाचन प्रहरीलाई खटाइने एसएसपी विष्टले बताए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५ शय १९ निर्वाचन प्रहरी रहने छन् ।

सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गर्दै सोही अनुसार व्यवस्था मिलाइएको जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्टका अनुसार सुदूरपश्चिममा एक हजार १ शय ७६ मतदान स्थल र दुई हजार १ शय ९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अति संवेदनशीलको सूचीमा राखिएको छ ।

यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।

मतदान स्थलको भित्री सुरक्षामा उनीहरू परिचालन भए पनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने एसएसपी विष्टले बताए ।सुदूरपश्चिम प्रदेशमा योपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update