Hamro Patra
प्रतिनिधि सभा निर्वाचनः कैलाली क्षेत्र नं. १ लाई फर्केर हेर्दा

 टीकापुर, माघ १९
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका यतिबेला उम्मेदवारहरु चुनावी दौडमा छन् । कतिपय राजनीतिक दलले प्रचार प्रसार अभियान शुरु गरिसकेका छन् भने कतिपय आन्तरिक छलफलमा व्यस्त छन् । आउनुहोस् तीन वर्षअघि सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणामलाई फर्केर हेरौं । 

२०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रेशम पत्नी रञ्जिता श्रेष्ठले ३० हजार ४०४ मत गरेकी थिइन् । 

टीकापुर घटनाको जगमा स्थापना भएको उन्मुक्तिले कैलालीका पाँच क्षेत्रमध्ये ३ क्षेत्रमा जित हात पारेको थियो । अहिले सो पार्टी विभिन्न पार्टीमा विलय भएको छ भने उन्मुक्तिका नेताहरु विभिन्न छ वटा पार्टीबाट फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बनेका छन् । निर्वाचन कार्यालयले रेशम चौधरीको उम्मेदवारी रद्द गरेको छ ।  

२०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी सहितको पार्टीको गठबन्धनको समर्थनमा उम्मेदवार बनेका नेपाली काँग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका थिए । यसपटक माओवादी केन्द्र, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ समूहले मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई उम्मेदवार बनाएको छ । 

२०७९ को निर्वाचनमा नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ शय १० मत प्राप्त गरेका थिए । यसपटक नेकपा एमालेबाट द्धारिका न्यौपाने चुनावी मैदानमा उत्रिएका छन् । २०७९ को निर्वाचनमा राप्रपाका लोकेन्द्रबहादुर कुँवरले ३ हजार ६ शय ४८ मत प्राप्त गरेका थिए । कुँवर यसपटक समेत उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टंक ढुंगानाले १ हजार ८ शय ६९ मत पाएका थिए । रास्वपाबाट यसपटक नागरिक उन्मुक्ति पार्टीकी उपाध्यक्ष रहेकी कोमल ज्ञवाली प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी छन् ।

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुल १ लाख ६ हजार ७०३ मतदाता मध्ये ६४ हजार १६४ जनाले मतदान गरेका थिए ।

२०७९ को निर्वाचनमा कसले कति मत प्राप्त गरेका थिए ?

1-Pratinidhi-sabha-1770022760.jpg

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update