टीकापुर, माघ २१
प्रतिनिधि सभा सदस्यको लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा पाँच हजार बढी सशस्त्र प्रहरी परिचालन हुने भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका अनुसार माघ २१ गतेदेखि प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र सशस्त्र प्रहरीलको सुरक्षा बेस स्थापना गरिने छ । सुरक्षा बेसमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षा फौज तैनाथ गरिने व्यवस्था मिलाइएको हो ।
मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सुरक्षा तयारी गरिएको जानकारी दिए । उनका अनुसार फागुन ६ गतेदेखि छुट्टाछुट्टै मोबाइल टोली परिचालन गरिनेछ ।
यस्तै डिएसपीको कमान्डमा बाहिनीस्तरीय रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिएको छ । निर्वाचन विरोधी गतिविधि रोक्न अनुगमन टोली परिचालन गरिने र सूचनाको प्राप्ति तथा विश्लेषणलाई निरन्तरता दिइने सुवेदीले बताए । निर्वाचन सुरक्षामा करिब पाँच हजार एक सय सशस्त्र प्रहरी परिचालन गरिने उनको भनाइ छ ।
सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उनको भनाइ छ । सवारी साधनको अभाव भएका स्थानमा आवश्यक सवारी साधन भाडामा लिने व्यवस्था गरिएको छ ।
पहाडी क्षेत्रमा सञ्चार तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन रिपिटर टावर निर्माण गरिएको, सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचना नियन्त्रणका लागि सूक्ष्म निगरानी राखिएको जानकारी दिए ।
निर्वाचनमा हुन सक्ने सम्भावित विपत् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी पूरा गरिएको र समग्र सुरक्षा रणनीति बनाएर सशस्त्र प्रहरी बल सक्रिय रूपमा परिचालन भइरहेको समेत सशस्त्र प्रहरीका बाहिनीपति सुवेदीको भनाइ छ ।




