Hamro Patra
मतदातासँग सुझावसहित मत माग्दै भीम बडुवाल

सुखड, माघ २१
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका भीम बडुवालले मतदातासँग सुझाव सङ्कलन गर्न थालेका छन् ।

उनले यसका लागि एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्दै सुझाव सङ्कलन शुरु गरेका हुन् । निर्वाचन क्षेत्रका नागरिकको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले सुझाव सङ्कलन सुरु गरिएको बडुवालले बताए ।

‘यहाँका सबै बासिन्दाको मत संसदमा सुनियोस् भन्ने सुनिश्चित गर्नुपर्छ’ उनले भने ‘त्यसका लागि मैले प्रविधिको प्रयोग गर्दै सुझाव सङ्कलनको अभियान थालेको हुँ ।’

बडुवालले प्राप्त सुझावलाई प्रतिनिधि सभामा सशक्त रुपमा उठाएर नागरकका आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘भोटले सरकार बन्छ, तर समृद्ध समाज बनाउन नागरिकको सुझाव र सक्रिय सहभागिता अपरिहार्य हुन्छ’ बडुवालले भने ‘दीर्घकालीन विकास, सुशासन तथा भुइँ तहका आवाज नै मेरा आगामी नीति निर्माणका आधार हुन् ।’

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update