कञ्चनपुर, माघ २२
सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार ९ शय २६ जना प्रभावित भएका छन् । तीमध्ये १ शय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म ५ शय ८७ जना सर्पदंशबाट प्रभावित भएका छन् । तीमध्ये १७ जनालाई विषालु र ५ शय ७० जनालाई विषरहित सर्पले टोकेको थियो ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ८ शय २७ जनालाई सर्पदंश लागेको थियो । यसमध्ये ४६ जनालाई विषालु र ७ शय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने ५ शय १२ जना सर्पदंशबाट प्रभावित भएका थिए । तीमध्ये ९१ जनालाई विषालु र चार शय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो ।
प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्पदंशको उच्च जोखिममा रहेका छन् । तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी धेरै भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताए ।
उनका अनुसार सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन, करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको छ । विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको उनको भनाइ छ ।
विशेषगरी वर्षायाम तथा खेतीपातीको समयमा सर्पदंशका घटना बढ्ने गरेका छन् । जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, राति घर वरपर सर्प पस्ने तथा बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने समस्या बढ्ने हुँदा सो अवधिमा अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ ।
रासस




