टीकापुर, माघ २२
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन्।
मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी रहेका छन्।
त्यस्तै, बझाङकै केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट तथा जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतलाको पनि मृत्यु भएको छ।
यसैगरी, बैतडीको पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार तथा उपचार जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




