टीकापुर, माघ २५
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका द्वारिका प्रसाद न्यौपानेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
टीकापुरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको घोषणापत्रमा स्थानीय विकास, रोजगारी सिर्जना, सुशासन, शिक्षा–स्वास्थ्य सुधार र जनउत्तरदायित्वलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ।
घोषणापत्र सार्वजनिक गर्दै न्यौपानेले कैलाली–१ का नागरिकले वर्षौँदेखि भोग्दै आएका समस्या अझै समाधान हुन नसकेको उल्लेख गरे। “कैलाली–१ ले प्रतिनिधि त पायो, तर आवाज पाउन सकेन,” उनले भने, “अब संसद्मा यो क्षेत्रको मुद्दा मजबुत रूपमा उठाउने समय आएको छ।”
घोषणापत्रमा कैलाली–१ को भौगोलिक, सामाजिक र आर्थिक अवस्थालाई विशेष रूपमा समेटिएको छ। सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा अझै नागरिकको अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै न्यौपानेले प्रतिनिधि सभामा पुगेर संघीय सरकारबाट क्षेत्रका लागि पर्याप्त बजेट र योजना ल्याउने प्रतिबद्धता जनाएका छन्।
रोजगारी सिर्जनालाई घोषणापत्रको मुख्य आधार बनाइएको छ। कैलाली–१ का ठूलो संख्यामा युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जान बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गरिने उल्लेख छ। कृषि आधुनिकीकरण, स्थानीय उत्पादनमा आधारित उद्योग, थारू तथा स्थानीय संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनमार्फत रोजगारी बढाइने योजना घोषणापत्रमा समेटिएको छ।
शिक्षा क्षेत्र सुधारलाई पनि घोषणापत्रमा विशेष प्राथमिकता दिइएको छ। कैलाली–१ का सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र युवालाई सीपमूलक तालिम प्रदान गर्ने नीति अघि सारिएको छ। “यहाँका युवाले पढाइपछि बेरोजगार बस्न नपर्ने वातावरण बनाउनु मेरो मुख्य लक्ष्य हो,” घोषणापत्रमा उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा सुधार घोषणापत्रको अर्को महत्वपूर्ण पक्ष हो। ग्रामीण तथा सीमान्तकृत बस्तीमा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याइने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था तथा विपन्न वर्गका लागि निःशुल्क उपचारको दायरा विस्तार गर्ने योजना अघि सारिएको छ।
घोषणापत्रमा सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ। प्रतिनिधि सभामा पुगेर पारदर्शी कानुन निर्माण, सार्वजनिक खर्चमा कडा निगरानी र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न पहल गरिने न्यौपानेले बताएका छन्। “कैलाली–१ का नागरिकको करको पैसा सही ठाउँमा खर्च हुनुपर्छ,” उनले भने।
महिला, दलित, थारू समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको हक–अधिकार सुनिश्चित गर्न संसद्मा निरन्तर आवाज उठाइने घोषणापत्रमा उल्लेख छ। समावेशी विकास, सामाजिक न्याय र समान अवसरलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाइएको छ।
युवालाई केन्द्रमा राखेर विशेष कार्यक्रम ल्याइने घोषणापत्रमा उल्लेख छ। सीप विकास, उद्यमशीलता, खेलकुद र नवप्रवर्तनमा लगानी बढाई कैलाली–१ का युवालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। युवाको विदेश पलायन रोक्न नीति निर्माण तहबाटै पहल गरिने न्यौपानेको भनाइ छ।
पर्यावरण संरक्षण र दिगो विकासलाई पनि घोषणापत्रमा समेटिएको छ। विकासका नाममा वन, नदी र भूमिको दोहन होइन, संरक्षणसँगै समृद्धि हासिल गर्ने नीति लिइने उल्लेख गरिएको छ।
जलवायु परिवर्तनको असरबाट प्रभावित किसान र समुदायका लागि विशेष कार्यक्रम ल्याइने जनाइएको छ।
न्यौपानेले सांसद जितेमा त्यसवाफत पाउने भत्ता र पारिश्रमिक गरिव परिवारकाे शिक्षामा खर्च गर्ने दाबि गरे ।




