टीकापुर, फागुन ३
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका तपेन्द्र शाहले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन्।
टीकापुरमा पत्रकार सम्मेलनको आयोजना गरी शाहले आफूले उम्मेदवारी निस्क्रिय पारेकाे बताए ।
लामो समय नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको कैलाली अध्यक्ष रहेका शाहले पार्टीप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै नेपाली कम्युनिष्ट पार्टीका नेताहरूको आग्रहपछि उम्मेदवारी निस्क्रिय पारेको बताए।
उनले पत्रकार सम्मेलन मार्फत आफ्नो समर्थन नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुलाई रहने जानकारी दिए ।
पार्टीले टिकट दिने प्रक्रिया मिचेको भन्दै शाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए। शाह नेपाली कम्युनिस्ट पार्टीको युवा उम्मेदवारका रुपमा केन्द्रमा सिफारिस भएका नेता हुन्।
पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेपछि सिफारिसमा परेका नेताहरू उम्मेदवार हुनबाट वञ्चित भएका थिए भने कैलाली क्षेत्र नम्बर १ मा डंगौरा थारुलाई उम्मेदवार बनाइएको थियो।




