टीकापुर, फागुन ८
टीकापुरस्थित टीकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर टीकापुर अस्पतालाई बेञ्चसहित सरसफाईका सामान हस्तान्तरण गरेको छ ।
सहकारी स्थापनाको १७औं वर्ष पुगेको अवसरमा सहकारी टीकापुर अस्पतालमा आउने विरामीका लागि काठको बेञ्च दुई थान, सरसफाईका लागि फिनाइल एक पेटी, हरपिक, कुचो लगायतका सामानहरु हस्तान्तरण गरेको हो ।
सहकारी संस्थाका संस्थापक अध्यक्ष भीमबहादुर रावल र कार्यसमितिका अध्यक्ष भरतबहादुर रावलले सामानहरु अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर नवीनचन्द्र भट्टलाई हस्तान्तरण गरेका हुन् ।
अस्पतालबाट प्रवाह गरिने सेवाहरु सबैको सहयोगबाट मात्र प्रभावकारी हुनसक्ने बताउँदै डाक्टर भट्टले सहयोगका लागि सहकारी संस्थालाई आभार व्यक्त गरे । टीकापुर अस्पतालमा आउने विरामी तथा कुरुवाका लागि बेञ्चले सहयोग पुग्ने र सरसफाईमा मद्दत पुग्ने डाक्टर भट्टले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भीमबहादुर रावलले स्थापनाको १७औं वर्षमा अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा सहकारी संस्थाका सञ्चालक, सल्लाहकार, लेखासमिति तथा कर्मचारीहरुको उपस्थिति रहेको संस्थाका प्रबन्धक दिपकबहादुर थापाले जानकारी दिए । प्रबन्धक थापाका अनुसार संस्थाले हरेक वर्ष स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउँदै आएको छ ।




