टीकापुर, फागुन ८
कैलालीको चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेका पाँच जनालाई वनको टोलीले पक्राउ गरेको छ । चुरे गाउँपालिका वडा नं. ४ स्थित अँधेरी खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विभिन्न उपकरण चलाउने व्यक्ति रहेका छन् । खोलामा अवैध उत्खननका लागि प्रयोग गरिएको एक भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्रयाक्टरलाई वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन एवम् स्वीकृति बिना नदीजन्य पदार्थ उत्खनन गरिएकाले पक्राउ गरिएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।
कानुन विपरित उत्खनन गरिएकोले उनीहरूलाई पक्राउ गरिएको उहाँले उल्लेख गर्नुभयो।पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।




