टीकापुर, फागुन ८
नगर प्रमुख रामलाल डगौरा थारुले राजीनामा दिएसँगै नेतृत्वविहीन भएको टीकापुर नगरपालिकाले कार्यपालिका बैठक आव्हान गरेको छ ।
कार्यपालिकाका १७ सदस्यमध्ये बहुमत सदस्यले कार्यपालिका बैठक आव्हानका लागि कार्यपालिकाका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई हस्ताक्षरसहित निवेदन दिएका थिए ।
बहुमत कार्यपालिका सदस्यहरुको हस्ताक्षर सहितको निवेदन आएपछि धितालले शनिवार विहान ८ बजेका लागि कार्यपालिका बैठक आव्हन गरेका हुन् ।
सम्भवतः शनिवार विहानको कार्यपालिका बैठकले कार्यवाहक नगर प्रमुख तोक्नेछ । नगर प्रमुख थारुले राजीनामा दिएपछि कार्यपालिका बैठक बस्न सकेको थिएन ।
नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु दिपक निसानी, मञ्जु विश्वकर्मा, लबरी चौधरी र राजरानी चौधरीले बैठकको आव्हन गर्न माग गर्दै हस्ताक्षर गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट निर्वाचित दीपक चौधरी, बलिराम चौधरी, ऋषि श्रीपाइली, रामबहादुर नगार्जी तथा नेकपा एमालेबाट निर्वाचित मोहन वि.क. लुहारले कार्यपालिका बैठक आव्हनका लागि हस्ताक्षर गरेका हुन् ।
नगर प्रमुख रामलाल डगौरा थारु प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो ।
नगर प्रमुख नहुँदा पालिकाको दैनिक सेवाप्रवाहमा असर परिरहेको छ भने स्वास्थ्य उपचारका लागि राहत माग गर्न आउने विरामीहरु सबैभन्दा मर्कामा छन् । पालिकाका नगर प्रमुखको सिफारिसमा दीर्घरोगीहरुलाई उपचारमा आर्थिक सहयोग हुँदै आएको थियो ।




