टीकापुर, फागुन ९
टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा कार्यपालिकाका जेष्ठ सदस्य रामबहादुर नगार्जी चयन भएका छन्।
कार्यपालिकाको ६२औँ बैठकले जेष्ठ सदस्य नगार्जीलाई कार्यवाहक नगर प्रमुखका रूपमा चयन गरेको हो।
निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारु प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएसँगै नेतृत्वविहीन भएको नगरपालिकाको कार्यपालिका बैठकबाट बहुमत सदस्यले नगार्जीलाई सर्वसम्मत चयन गरेका हुन् ।
कार्यपालिकाका १७ सदस्यमध्ये बहुमत सदस्यले जेष्ठ सदस्य रामबहादुर नगार्जीलाई कार्यवाहक नगर प्रमुखमा चयन गरेको कार्यपालिकाका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।

बहुमत कार्यपालिका सदस्यहरुको हस्ताक्षर सहितको निवेदन आएपछि धितालले शनिवार विहान ८ बजेका लागि कार्यपालिका बैठक आव्हन गरेका थिए ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु दिपक निसानी, मञ्जु विश्वकर्मा, लबरी चौधरी र राजरानी चौधरी, नेपाली काँग्रेसबाट निर्वाचित दीपक चौधरी, बलिराम चौधरी, ऋषि श्रीपाइली, रामबहादुर नगार्जी तथा नेकपा एमालेबाट निर्वाचित मोहन वि.क. लुहारको उपस्थिति रहेको थियो।
कार्यवाहक नगर प्रमुख नगार्जीले आफूलाई बहुमत कार्यपालिकाका सदस्यहरूले विश्वास गरेर दिएको जिम्मेवारी सबैको सरसल्लाह, सुझाव अनुसार नगरपालिकाको काम कारबाही अगाडि बढाउने बताए । नगार्जीले आजै पदस्थापन समेत गरेका छन्।
नगर प्रमुख रामलाल डगौरा थारु प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो ।




