टीकापुर, फागुन ९
कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवारहरुले क्षेत्रको विकासका लागि सामुहिक प्रतिबद्धता गरेका छन् ।
टीकापुर जेसीजको आयोजनामा आज सम्पन्न भएको ककस कार्यक्रमपछि उम्मेदवारहरुले सामुहिक प्रतिबद्धता गरेका हुन् ।
उनीहरुले टीकापुर क्षेत्रको आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा तथा राजनीतिक विकासका लागि एकआपसमा सहकार्य गर्ने, जनताका आवाज संसदमा उठाउन सामुहिक रुपमा प्रतिबद्धता गरेका हुन् ।
ककस कार्यक्रममा बोल्दै प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका उम्मेदवार डाक्टर जनकराज शाहले जनताका आवश्यकताका आधारमा सबै पक्षबीच समन्वयात्मक भूमिका गरेर जनतासँगै रहेर काम गर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीले कैलाली क्षेत्र नं. १ मा आफ्नो मुख्य एजेण्डा कृषि र संस्कृति रहेको बताए । उनले कृषि क्षेत्रको विकास र संस्कृतिलाई आयआर्जनसँग जोडेर जनताको आर्थिक स्तर उकास्न विशेष जोड दिने बताए ।
ककस कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले टीकापुर क्षेत्रको कायापलट गर्न सकिने कर्णाली करिडोर परियोजना आफूले अघि सारेको बताए । उनले टीकापुरलाई शिक्षाको राजधानी का रुपमा विकास गर्न आफू केन्द्रित हुने बताए ।
स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहीले टीकापुरको व्यापार, व्यवसाय र कृषि क्षेत्रमा रहेका समस्याबारे आफू जानकारी रहेको बताउँदै ती समस्याको समाधान नै आफ्नो मुख्य एजेण्डा रहेको दाबी गरे ।
नेकपा माओवादीका उम्मेदवार रामबहादुर वि.क.ले नीति र नेतृत्व सही भए मात्रै देशको विकास सम्भव हुने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले टीकापुरको एयरपोर्ट सञ्चालनको निरन्तरतामा यस क्षेत्रका सांसदहरुले असहयोग गरेका कारण सम्भव नभएको बताउँदै आफू निर्वाचित भए एयरपोर्ट सञ्चालन गर्ने दाबी गरे ।
टीकापुर नगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेका उनलाई ककस कार्यक्रममा एक सोधिएको प्रश्नको जवाफमा उनले टीकापुर पार्क र नगरपालिकाको परिसरभित्र गुलाब रहेको बताउँदै प्रतिनिधि सभामा निर्वाचित भए गुलाफ सिटीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन काम गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले यो निर्वाचन देश बचाउनु पर्ने बेला भएकाले सानातिना विकास निर्माणको काम भन्दा देशको हितमा काम गर्नेपर्ने बताए ।
टीकापुर जेसीजका अध्यक्ष कमलराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई उम्मेदवारलाई विभिन्न जिज्ञासाहरु राखेका थिए ।
टीकापुर जेसीजका पूर्वअध्यक्ष जगदिश्वर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव टेकेन्द्रसिंह विष्ट मानसले गरेका थिए ।




