Hamro Patra
कैलाली ५ मा एमालेसहित १२ उम्मेदवारको जमानत जफत

टीकापुर, फागुन २३  

कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका छन् । उनी ३१ हजार ९ शय ५३ मत पाउँदै विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नरनारायण शाहले ११ हजार ९ शय ५८ मत ल्याएका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८ शय ७६ र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले ५ हजार ८ शय ३९ मत पाएका छन् । कैलाली ५ मा ६५ हजार ९६३ मत खसेको थियो ।

यो क्षेत्रमा अधिकांश निर्वाचन कांग्रेसले जित्दै आएको छ । ०७० सालको संविधानसभा, ०७१ सालको उपनिर्वाचन र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । 

एमालेसहित १२ उम्मेदवारको जमानत जफत

सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानासहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो ।

उक्त ऐनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने व्यवस्था छ ।

त्यहाँ कुल ६२ हजार १ शय ४७ मत सदर हुँदा धरौटी जोगाउन ६ हजार २ शय १५ मत प्राप्त गर्नुपर्ने थियो । एमालेका ढुंगानाले भने ५ हजार ८ शय ३९ मत मात्रै पाए । 

यो क्षेत्रमा कांग्रेसका शाह र नेकपाका आलेले मात्रै जमानत जोगाएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update