Hamro Patra
वरिष्ठ वन अधिकृत यादव भ्रष्टाचारी ठहर

टीकापुर, फागुन २७ 
विशेष अदालतले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको    छ ।

मंगलबार न्यायाधीश सुदर्शनदेव भट्टको अध्यक्षता तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित संयुक्त इजलासले सेवाग्राहीसँग घुस लिएको अभियोगमा यादवलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै गत भदौ २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

अनुसन्धानपछि पर्याप्त प्रमाण फेला परेपछि आयोगले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । अदालतको फैसलाअनुसार अब उनलाई भ्रष्टाचारसम्बन्धी कानुनअनुसार बिगो, जरिवाना तथा अन्य सजाय तोकिनेछ ।

यही मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा कैलालीको चुरे गाउँपालिका वडा नं. ६ का प्रेमसिंह ठगुन्ना र गोदावरी नगरपालिका वडा नं. २ का किसनसिंह साउँदलाई पनि अदालतले दोषी ठहर गरेको छ । 

वन अधिकृतलाई जोगाउने उद्देश्यले अदालतमा फरक बयान दिएको भन्दै आयोगले उनीहरूलाई पनि प्रतिवादी बनाएको थियो ।कैलालीको चुरे गाउँपालिका वडा नं. ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमर्का तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई गत साउन ५ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

पक्राउपछि उनलाई प्रारम्भिक अनुसन्धानका लागि कञ्चनपुरस्थित अख्तियारको हिरासतमा राखिएको थियो । त्यसपछि थप अनुसन्धानका लागि केही दिन काठमाडौंस्थित अख्तियारको हिरासतमा राखेर बयान तथा प्रमाण संकलन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update