Hamro Patra
फोहोर व्यवस्थापनमा चुनौतिः निकास निकाल्ने पालिकाको प्रयास

टीकापुर, चैत २
टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौति देखिएको छ । संकलित फोहोर थुपार्ने उपयुक्त स्थानको छनौट हुन नसक्दा व्यवस्थापनमा चुनौति थपिएको हो । टीकापुरमा १६ जना सरसफाईकर्मीले दैनिक ६ ट्राली भन्दा बढी फोहोर संकलन गर्ने गरेका छन् । 

पालिकाको सरसफाई शाखा प्रमुख लोकबहादुर बुढाका अनुसार बजार क्षेत्रको फोहोर संकलन गरिए पनि थुपार्ने उपयुक्त स्थान नहुँदा व्यवस्थापनमा चुनौति देखिएको हो । बुढाले यसअघि पालिकाले खाल्डाखुल्डी क्षेत्रमा गाडेर फोहोर व्यवस्थापन गर्दै आए पनि ठाउँको अभावमा फोहोर संकलन गर्न समस्या भइरहेको बताए । 

‘यो समस्या लामो समयदेखि नै हो, पहिले पहिले बजार क्षेत्रका खाल्डाखुल्डी पुरेर फोहोर व्यवस्थापन गर्दै आएका थियौं’ बुढाले भने ‘अब त्यस्ता खाल्डाखुल्डी सकिए, फोहोर थुपार्ने ठाउँ नहुँदा फोहोर संकलन गर्न समेत समस्या भइरहेको छ ।’ 

फोहोर व्यवस्थापनका लागि लामो समयदेखि ल्याण्डफिल्ड साइडको अभाव भए पनि नगरपालिकाले निकास निकाल्न सकेको    छैन । टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन सिंह लुहार वि.क.को नेतृत्वमा ल्याण्डफिल्ड साइड सम्बन्धी अध्ययन गर्न एक समिति गठन गरिएको थियो ।

सो समितिले नगरपालिकाको स्वामित्वमा रहेको टीकापुर नगरपालिका वडा नं. ५ स्थित टीकापुर नर्सरी, भगरैया नर्सरी र भैरवनाथ सामुदायिक वनलाई उपयुक्त क्षेत्र भन्दै प्रारम्भिक सुझाब पालिकालाई दिएको छ । 

यसअघि समेत टीकापुर नर्सरीमा ल्याण्डफिल साइडबारे छलफल हुँदा स्थानीयबासीले विरोध गरेका थिए । संकलित फोहोरलाई वर्गीकरण गरेर फोहोरबाट मोहर बनाउन सकिने अवस्था हुँदा समेत स्थानीयको विरोध र राजनीतिक दलहरुले चासो नदिँदा व्यवस्थापनमा समस्या भएको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत समुन धितालले राजनीतिक दल र स्थानीयको सहमति विना फोहोरको दिगो व्यवस्थापन हुन नसक्ने बताए । ‘फोहोरको दिगो व्यवस्थापनका लागि राजनीतिक दलहरुले उपयुक्त स्थान सुझाव गर्न आवश्यक रहेको छ’ प्रमुख प्रशासकीय अधिकृत धितालले भने ‘फोहोर संकलन नगरे विरोध हुने गरेको छ, तर उपयुक्त स्थानबारे पालिकालाई राजनीतिक दल र स्थानीयबासीले उपाय पनि दिनुपर्दछ ।’

पालिकाले आइतवार फोहोरको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरेको थियो । कार्यक्रमका सहभागीहरुले फोहोरको वर्गीकरण घरबाटै गरेर संकलन गरे मात्रै दिगो समाधान हुनसक्ने बताए । उनीहरुले उपयुक्त स्थानका स्थानीयलाई फोहार व्यवस्थापन भइरहेको क्षेत्रमा भ्रमण गराएर सहमति गराउन सके फोहोरको दिगो व्यवस्थापन हुने बताए । 

कार्यक्रममा नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले फोहोर व्यवस्थापन पालिकाको मात्रै नभएर सबै नागरिकको मुख्य समस्या भएकाले समाधानका लागि सहजीकरण गरिदिन स्थानीयलाई आग्रह गरे । 

कार्यक्रममा समाजसेवी नवराज रावल, मातृकाप्रसाद तिमिल्सेना, नर साउँद लगायतले आफ्‌ना धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update