Hamro Patra
क्षेत्राधिकार मिच्दै सशस्त्र प्रहरीः भन्सार नपुग्दै सामान नियन्त्रणमा

टीकापुर, चैत ४
भारतबाट आयात गरिएको सामान भन्सार कार्यालय नपुग्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म खक्रौलाले भारतीय सीमा बजार तिकुनियाँबाट ल्याएको ब्यापारीको सामान नियन्त्रणमा लिने गरेको पाइएको हो । 

सत्ती भन्सार कार्यालय खक्रौलाबाट झण्डै एक किलोमिटर दक्षिणतर्फ रहेको गुल्मले विभिन्न बहानामा सामान नियन्त्रण लिएर दुःख दिने गरेको व्यापारीहरुले गुनासो गरेका छन । व्यापारीहरुले सशस्त्र प्रहरीले भन्सार नपुग्दै सामान नियन्त्रणमा लगेर क्षेत्राधिकार मिचेको बताए । 

‘भन्सार नतिरेर सामान आयात गर्दा नियन्त्रणमा लिने कुरा जायज हो’ व्यापारी सर्पराज साउँदले भने–‘तर सशस्त्र प्रहरीले त भन्सार कार्यालय नपुग्दै सामान नियन्त्रणमा लिने गरेको छ ।’

सशस्त्र प्रहरीले भारतीय जिएसटी र कष्टम बिल भएको सामान समेत नियन्त्रणमा लग्ने गरेको व्यापारीले गुनासो गरेका छन । उसले मंगलवार मात्रै यस्तै प्रकृतिको सामान नियन्त्रण लगेको छ । स्रोतका अनुुसार सशस्त्र प्रहरीले तिकुनियाँबाट टीकापुरस्थित एसजिएस टे्रड एण्ड सप्लायर्सका नाममा आयात भएको सामान नियन्त्रण लिएको हो । 

व्यापारी रसिद अलीले बिल देखाउँदा पनि सशस्त्र प्रहरी नायब उपरिक्षक प्रदिप पौडेलको निर्देशनमा सामान नियन्त्रण लगेको बताए । ‘मैले डिएसपी सापलाई बिल छ भनेर देखाए, उनले बिल पनि हेरे, तैपनि सामान भित्र राख्न लगाए’ उनले भने–‘मेरो सामान नियन्त्रणमा लिनुपर्ने कुनै कारण छैन ।’

सो सामान बुधवार टीकापुर उद्योग वाणिज्य संघको रोहबरमा भन्सार तिर्ने गरी छोडिएको छ । सशस्त्र प्रहरी नायब उपरिक्षक पौडेलले सुराकीको आधारमा सामान नियन्त्रणमा राखेको बताए । उनले सामानमा कुनै कैफियत नदेखिए पछि रोहबरमा छोडेको जानकारी दिए ।

‘बिल भन्दा बढी सामान भित्रिएको भन्ने खबर पाएपछि नियन्त्रणमा लगेको हो’ उनले भने–‘त्यो खबरमा कुनै सत्यता देखिएन ।’ उनले कष्टम नभएको एकथान सिसाको पानी पिउने बोत्तल मात्रै जफत गरिएको बताए । उनका अनुसार सिसाको पानी पिउने बोत्तल फुटेको अवस्थामा बरामद भएको छ । 

सशस्त्र प्रहरीले सामान भन्सार कार्यालय नपुग्दै आफ्‌नो नियन्त्रणमा लग्ने कार्य कानून सम्मत नभएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख चक्रबहादुर सोनीले बताए । उनले कुनै गैरकानूनी सामान भित्रिएको पाइएमा भने सशस्त्र प्रहरीले जुनसुकै ठाउँबाट सामान नियन्त्रणमा लिन सक्ने जानकारी दिए । ‘भन्सार नतिरेको सामान मात्रै नियन्त्रणमा लिने हो’ निमित्त प्रमुख सोनीले भने–‘सशस्त्र प्रहरीले कतिपय सामान भन्सार कार्यालय पुग्नै दिँदैन ।’

उनले गुल्मपति पौडेलले भन्सार कार्यालयसँग कुनै खालको समन्वय नगर्ने बताए । उनले समन्वयका लागि पहल गर्दा समेत गुल्मपतिबाट वेवास्ता हुने गरेको दुःखेसो पोखे । ‘उहाँ कुरै सुन्नु हुन्न, केही भन्यो कि झर्केर बोल्नु हुन्छ’ उनले भने–‘गुल्मपतिबाट समन्वय नै भएन ।’

नेपाली व्यापारीहरुले गुल्मपति पौडेलको भारतीय व्यापारीसँग मिलेमतो रहेको आरोप लगाएका छन । उनीहरुले भारतीय व्यापारीले भन्सार नतिरेर समेत निर्वाध सामान भित्र्याउने गरेको बताए । ‘चोरी तस्करी ब्यापक भैरहेको छ । खै पक्राउ गरेको ?’ एक नेपाली व्यापारीले भने–‘हामीले भन्सार तिरेर काम गर्छौ भन्दा पनि उल्टै दुःख पाईरहेका छौं ।’

नेपाली व्यापारीहरुले भारतीय जिएसटी र कष्टम भएको सामान निर्वाध रुपमा भन्सार तिरेर आयात गर्न पाउनु पर्ने बताए । उनीहरुले सशस्त्र प्रहरीले अतिरिक्त रकम नदिएको रिसमा बेला बेलामा दुःख दिने गरेको आरोप लगाएका छन ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update