टीकापुर, चैत ५
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ अमलेशैनी गाउँमा एक व्यक्तिले गोली हानी आफ्नै श्रीमतीको ज्यान लिएका छन् भने आफैंमाथि गोली प्रहार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३१ वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरेका थिए। गोली लागेर संजिताको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि मगरले सोही बन्दुक प्रयोग गर्दै आत्महत्या प्रयासस्वरूप आफैंमाथि पनि गोली चलाएका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
कैलाली प्रहरीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार श्रीमान्–श्रीमतीबीच भएको विवाद नै घटनाको मुख्य कारण देखिएको छ।
मृतकको शव हाल पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।




