टीकापुर, चैत ५
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ बजैपुरमा भएको सवारी दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ।
ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा सेतानु चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने कलसु चौधरीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरुगाडामा बाँधिएको एक गोरुको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको छ।
घटनापछि ट्रकसहित चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीका ३३ वर्षीय रुबिन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




