टीकापुर, चैत ६
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा टीकापुर नगरपालिका वडा नं. ९ का ४० वर्षीय रामबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो ।
साउँदमाथि गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोग छ । पक्राउ परेका साउँदलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखिएको छ ।
साउँदसँगै अन्य पाँच जनाको नाममा समेत जाहेरी परेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएइको छ । मंगलबार टीकापुरका व्यवसायीको सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेपछि विवाद हुँदा गुल्ममा स्थानीयले आक्रमण गरेका थिए ।
कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा गएर स्थानीय व्यापारीले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेका छन् । उनीहरुले ब्यारेकभित्र प्रवेश गरी हातपात गरेका थिए ।
सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त बाहिनीपति दिग्विजय सुवेदीले घटनाको छानबिन गर्न एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । सुवेदीले उक्त गुल्ममा कार्यरत ३३ सदस्यीय टोली फेरबदल गरिएको थियो ।



