Hamro Patra
टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनामा प्रदेश सरकार उदासिन भएको स्थानीयको आरोप 

टीकापुर, चैत ६
कैलालीको टीकापुर नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा स्थापना गर्ने भनिएको प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि छलफल थालेको छ । 

टीकापुरमा प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाको अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा टीकापुरस्थित विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाको सहभागितामा विश्वविद्यालय स्थापनाका लागि छलफल थालेको हो । 

छलफलमा सहभागी वक्ताहरुले विश्वविद्यालयबारे पटक पटक छलफल भएर जग्गा उपलब्धी तथा स्थापनाका लागि गर्नुपर्ने कामहरु गर्न सामुहिक प्रतिबद्धता व्यक्त भए पनि प्रदेश सरकारले आनाकानी गरिरहेको आरोप लगाए । 

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य हरि ज्ञवालीले प्रदेश सरकारले पारित गर्नुपर्ने ऐन प्रदेश सभामा पेश नभएर विश्वविद्यालयको काम अगाडि बढ्न नसकेको बताए । टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्रबहादुर रावलले प्रदेश सरकारले आफूले गर्नुपर्ने काम गर्न नसकेर विश्वविद्यालयको काम अगाडि बढ्न नसकेको बताए । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका डीन प्राध्यापक डाक्टर विष्णुविलास अधिकारीले पर्याप्त अध्ययन र अनुसन्धान तथा आवश्यक विषयवस्तु र पाठ्यक्रम बनाएर मात्रै विश्वविद्यालय स्थापनामा लाग्न आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति इञ्जिनियर रवीन्द्र विष्टले स्थानीयस्तरबाट दबावमूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले प्रदेश सरकारको भनाई र गराईमा फरक रहेकाले आवश्यक दबाव दिन सबै पक्ष एकजुट हुनुपर्ने बताए । 

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले पालिकाले आगामी कार्यपालिका बैठकबाट विधिवत् रुपमा प्रादेशिक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पालिकाले पहल गर्ने र दलहरुले आफ्‌नो क्षेत्रबाट पहल गरिदिन आग्रह गरे । 

टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका रंगप्रसाद अधिकारी, पत्रकार एकेन्द्र तिमिल्सेना, विष्णु रोकाया लगायतले बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update