टीकापुर, चैत ७
कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति एवं डीएसपी प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौं फिर्ता बोलाइएको छ ।
युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीका निम्ति उनीहरूलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा झिकाइएको हो ।
चैत ४ गते भारतबाट ल्याइँदै गरेको सामान बरामदका विषयमा केही व्यक्ति अनधिकृत तबरले त्यहाँस्थित सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरी गुल्मपति पौडेलमाथि हातपातको प्रयास हुँदा समेत बल प्रयोग नगरेको र युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरूलाई काठमाडौं झिकाइएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।
'कार्यालयभित्र छिरेर कमान्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबिन गर्ने भएको छ' उनले भने ।
उक्त समूह सशस्त्र प्रहरीको कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको ध्यानाकर्षण भएको उनले बताए ।
'तस्करी रोक्न विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्याएको प्रधान कार्यालयको ठहर छ' डीआईजी भट्टले भने ।
उक्त घटना छानबिनका निम्ति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा यसअघि समिति गठन गरिएको थियो ।
घटनाको समयमा त्यहाँ उपस्थित सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालयमा तानिएको छ ।
उक्त कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट टोली बदली समेत गरिएको भट्टले जानकारी दिए ।



