टीकापुर, चैत ९
सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलयात्रा महोत्सव शुरु भएको छ । ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको आधार’ भन्ने नारासहित विदेशी पर्यटक समेतको सहभागितामा सोमवार डोटीको सेती नदीबाट कर्णाली हुँदै कैलालीको टीकापुरसम्म र्याफ्िटङ गर्ने गरी जलयात्रा महोत्सव २०८२ शुरु भएको हो ।
मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईले आयोजना गरेको महोत्सवमा डोटीको बोगटान फुडसिल गाउँपालिकाको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रबद्र्धन गरेको छ ।
कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले समेत सहकार्य गरेका छन् ।
२५ जना विदेशी पर्यटक र नेपालका २५ जना जलयात्रा गाइड तथा चालकहरुको सहभागिता रहेको जलयात्रा महोत्सवको प्राविधिक सहयोग कर्णाली र्याफ्िटङ एण्ड एडभेञ्चर प्रालि चिसापानीले गरेको छ । प्रालिका सञ्चालक देवराज जैशीले यसअघि समेत सेतीबाट कर्णाली हुँदै चिसापानीसम्म जलयात्रा परीक्षण भइसकेको बताए ।
जलयात्राबाट लामो दुरीको जलयात्राको सम्भाव्यता अध्ययन गर्नुका साथै साहसिक पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रमका प्रमुख डबलबहादुर बोहराले बताए । उनले आन्तरिक र बाह्य पर्यटकहरुलाई जलयात्राका लागि भित्र्याउन कार्यक्रमले सहयोग पुग्ने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सेती नदीमा सहभागीहरुलाई स्वागत गरी जलयात्राको शुभारम्भ गरेका थिए । महोत्सवमा सहभागीहरु आइतवार नै दिपायल पुगेका थिए ।
जलयात्रा महोत्सवमा बुद्ध एयरलाइन्स, होटल एफ अफ ठमेल, सालिनी बाटिका तथा इको रिसोर्ट गोदावरी, रिभरसाइड होटल दिपायल र वर्षा होटल दिपायलले सहयोग गरेका छन् ।



