टीकापुर, चैत १०
टीकापुर नगरपालिका वडा नं. ९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले फागुनसम्म ९ करोड ६२ लाख ४१ हजार राजश्व सङ्कलन गरेको छ ।
साउनमा १ करोड २८ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि ६३ लाख ३७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मंसिरमा १ करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको छ । मंसिरमा भन्सारले १ करोड २१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।
कार्यालयका अनुसार असोज, मंसिर, पौष र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ भने साउन, भदौ, कार्तिक र फागुनमा लक्ष्य हाँसिल हुन सकेको छैन । भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य हाँिसल गर्ने दाबी गरे । ‘सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व सङ्कलनको लक्ष्य निर्धारण गर्ने हो’ उनले भने, ‘लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हाँसिल हुनेमा ढुक्क छौँ ।’
उनले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको बताए । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए राजश्वमा उल्लेख्य वृद्धि हुने बताए ।
गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो ।



