बर्दिया, चैत १०
स्थानीय र प्रहरीबीच झडप हुँदा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुरमा एघार प्रहरी घाइते भएका छन् । लागुऔषध कारोबारविरुद्ध हुलाकी सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झपड भएको हो ।
झडपमा केही स्थानीय पनि घाइते छन् । प्रहरीले स्थिति नियन्त्रण लिन ९ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रुग्याँस छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए ।
घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको उनले बताए । ‘प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि हवाई फायर र अश्रुग्याँस हान्नु परेको हो’ उनले भने । प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
केही समय यता भारतबाट भित्रिएको लागुऔषध ब्राउन सुगर, कोरेक्स लगायतका पदार्थ सेवन गर्दा दुई जनाको ज्यान गएको भन्दै स्थानीय सडकमा उत्रेका थिए ।
भारतको सीमावर्ती लौकही बजार जाने नाका बन्द गर्नुपर्ने, भारतमा लागुऔषध बेचबिखन गर्नेमाथि कारबाहीको माग राख्दै सडक बन्द गरेको गुलरिया नगरपालिका वडा नं. ११ नम्बर वडाका पूर्वअध्यक्ष रामनारायण केशरीले बताए । लागुऔषधको हब बन्दै गएकाले नाका पूर्ण बन्द गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।



