Hamro Patra
टीकापुरमा ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ सुरु

टीकापुर, चैत १३
टीकापुर साहित्य समाजको आयोजनामा टीकापुरमा आजदेखि ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण सुरु भएको    छ । 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान समेतको आयोजनामा सुरु भएको साहित्य महोत्सव ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले पानसमा दियो बालेर उद्घाटन गरे । कार्यक्रममा महोत्सवको स्मारिकासमेत विमोचन गरिएको थियो ।

चैत १५ गतेसम्म हुने यस महोत्सवमा भाषा, साहित्य, कला, संगीत र समसामयिक मुद्दाहरूमा आधारित २७ वटा विभिन्न सत्रहरू सञ्चालन हुने आयोजकले जनाएको छ । 

महोत्सवको मुख्य आकर्षणका रूपमा कर्णालीमा जलविहार, थारू सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको मौलिक देउडा खेललाई समावेश गरिएको छ । विशेषगरी लोपोन्मुख अवस्थामा रहेको थारू समुदायको रामलीला नाच प्रदर्शन गर्नु यस वर्षको विशेष कार्यक्रम रहेको छ ।

महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार थारू समुदायको समृद्ध मौलिकता, परम्परा र जीवनशैलीलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउनु यस महोत्सवको मूल उद्देश्य हो । ‘थारू समुदायको वैभवशाली संस्कृति प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो’ कार्यक्रमबारे बोल्दै शाहले भने । 

महोत्सवमा देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार र चिन्तकहरूको सहभागिता रहेको छ । यसअघि महोत्सवको पूर्वसन्ध्यामा चैत ७ गतेदेखि नै नाट्य कार्यशाला र चैत ९ देखि ११ गतेसम्म साहित्यकार नीलम कार्की निहारिका र केशव दाहालको सहजीकरणमा लेखन कार्यशाला सम्पन्न भइसकेका छन् । 

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी, वरिष्ठ चलचित्रकर्मी निर शाह, रेशमलाल चौधरी, साहित्यकार केशव दाहाल, नाटककार अशेष मल्ल, लेखिका निलम कार्की निहारिका र टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, महोत्सवका उपसंयोजक डाक्टर केशरबहादुर कुँवर लगायतले बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update