Hamro Patra
'स्वाद उत्सव' आयोजना गर्दै पौवा

टीकापुर, चैत २४

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिमा आधारित होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा देशभर रहेका सबै शाखाहरूमा “स्वाद उत्सव” आयोजना गरिनुका साथै लगानीकर्ताहरूको बृहत् सम्मेलन पनि गरिने जानकारी दिइएको छ।

होटलले नेपाली स्वाद, आतिथ्य र परिकारलाई देश–विदेशमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ सेवा प्रदान गर्दै आएको छ। यही लक्ष्यलाई थप सशक्त बनाउन वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमहरू ल्याइएको हो।

चैत २६, २७ र २८ गते सञ्चालन हुने “स्वाद उत्सव” मा होटलका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली परम्परागत स्वादको अनुभव गराइने जनाइएको छ। कार्यक्रममा सहभागी हुन देशभरबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको कम्पनीले जनाएको छ।

सुरुआतमा सानो स्तरबाट सुरु भएको होटल पौवा अहिले देशका विभिन्न स्थानमा करिब २० वटा शाखामार्फत सेवा विस्तार गर्न सफल भएको छ। “जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नारासहित होटलले नेपाली भाषा, संस्कृति र खानाको संरक्षणमा जोड दिँदै आएको छ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले ‘मिसन १००’ लाई सफल बनाउन लगानीकर्ता सम्मेलन पनि आयोजना गर्नेछ। उक्त अवधारणाअन्तर्गत व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत विकासलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ।

हाल होटल पौवा सञ्जालमा १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको बताइएको छ। आगामी दिनमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक बनाउने योजना कम्पनीको छ।

नयाँ वर्ष २०८३ को स्वागतका लागि पनि विशेष कार्यक्रम आयोजना गरिनेछ। चैत ३० गते देशभरका प्रमुख शाखाहरूमा सांगीतिक कार्यक्रमसहित “शुभकामना साँझ–२०८३” आयोजना गरिनेछ।

यसका साथै विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यक्रममार्फत नेपाली कला र परम्पराको संरक्षण गर्दै आएको होटल पौवाले पूर्णिमाको नृत्य, तिहारको देउसी–भैलो, माघे संक्रान्तिको खिचडी लगायतका कार्यक्रमहरू पनि नियमित रूपमा गर्दै आएको छ।

होटलले वार्षिकोत्सवको अवसरमा आयोजना हुने “स्वाद उत्सव” मा सहभागी भई नेपाली स्वाद र आतिथ्य अनुभव गर्न सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई आमन्त्रण गरेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update