राजापुर, चैत २४
बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट स्थानीय दुई जना स्थानीय घाइते भएका छन् । राजापुर नगरपालिका वडा नं. ९ इश्वरीगञ्जका शिवराज सेजुवाल र देविराम बस्नेत चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
प्रहरीका अनुसार मकैबारीमा लुकेर बसेको चितुवालाई लखेट्ने क्रममा उनीहरू घाइते भएका हुन् । चितुवा देखिएपछि निकुञ्जको डाँक टोली बोलाइए पनि टोली अन्यत्र व्यस्त रहेको भन्दै पुग्न सकेको थिएन । त्यसपछि सुरक्षाकर्मी र स्थानीयले मकैबारी क्षेत्रमा निगरानी बढाएका थिए ।
सीमावर्ती भारतीय जंगल नजिकैको क्षेत्र भएकाले चितुवालाई होहल्ला नगरी सुरक्षित रूपमा फर्काउन स्थानीयवासी आफैं लखेट्न जाँदा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते सेजुवाललाई उपचारको लागि स्वास्थ्य केन्द्र लगिएको स्थानीय महेश चौधरीले जानकारी दिएका छन् । घटनापछि उक्त क्षेत्रमा सतर्कता बढाइएको छ ।



