टीकापुर, चैत २५
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ८ आमखैयास्थित महेन्द्र राजमार्ग बन्द गरिएको छ । स्थानीयले बिहान १० बजेदेखि राजमार्ग ठप्प पारेका छन् । चैत २२ गते राति स्कुटर सडक दुर्घटनामा मृत्यु भएका स्थानीय रोशन चौधरीको परिवारले क्षतिपूर्ति नपाएको भन्दै स्थानीयले राजमार्ग बन्द गरेका हुन् ।
कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरको गौरीगंगा पुलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५९२९ नम्बरको स्कुटर आइतवार राति दुर्घटना हुँदा २३ वर्षीय चौधरीको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका चौधरिको परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै स्थानीयले राजमार्ग बन्द गरेका हुन् ।
बिहान १० बजेदेखि राजमार्ग पूर्णरुपले बन्द हुँदा राजमार्गमा सवारी साधानको जाम लागेको छ। स्थानीयले पैदलयात्री लाई समेत हिँड्न नदिएको बन्दमा परेका सवारी चालकले बताएका छन् ।
अकस्मात राजमार्ग बन्द हुँदा गन्तव्यमा हिँडेका यातायातका साधन अलपत्र परेका छन् । कैलाली प्रहरीले भने बन्द खुलाउने प्रयास भइरहेको बताएको छ । प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले मृतकका परिवारसँग राजमार्ग खुलाउन प्रहरीले वार्ता भइरहेको बताए ।



