Hamro Patra
अमखैयामा बन्द राजमार्ग खुल्यो

टीकापुर, चैत २५
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ८ आमखैयास्थित बन्द महेन्द्र राजमार्ग खुलेको छ । स्थानीयले बिहान १० बजेदेखि राजमार्ग बन्द गराएका थिए ।

चैत २२ गते राति स्कुटर सडक दुर्घटनामा मृत्यु भएका स्थानीय रोशन चौधरीको परिवारले क्षतिपूर्ति नपाएको भन्दै स्थानीयले राजमार्ग बन्द गरेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ मंगलपुरको गौरीगंगा पुल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५९२९ नम्बरको स्कुटर आईतवार राति दुर्घटना हुँदा २३ वर्षीय चौधरीको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चौधरिको परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै स्थानीयले राजमार्ग बन्द गरेका थिए । कानुनअनुसार क्षतिपूर्ति दिने सहमति भएपछि भर्खरै राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएइको छ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update