Hamro Patra
मरेको ब्रोइलर खाँदा दुई बालकको मृत्यु

टीकापुर, बैशाख ५
मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका कैलालीको चुरे गाउँपालिकाका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका वडा नं. ३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले दुबै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

प्रहरी निरीक्षक विष्टका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

घटना बिहीबारको भए पनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो । उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

फार्म सञ्चालक मंगल साउँदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update