Hamro Patra
विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको योजना अलपत्रः पाँच करोड बजेट फ्रिज हुने

टीकापुर, वैशाख ९
सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा स्थापना गर्ने भनिएको विज्ञान तथा प्रविधि विश्वविद्यालय योजना अलपत्र परेको छ । 

टीकापुरलाई प्राविधिक शिक्षाको हब बनाउने उद्देश्यले ल्याइएको उक्त योजना राजनीतिक खिचातानी र प्रदेश सरकारकै प्राथमिकतामा नपरेपछि अलपत्र परेको हो । 

विगत तीन आर्थिक वर्षदेखि प्रदेश सरकारले लगातार उक्त योजनाका लागि बजेट विनियोजन गरिरहेको भए पनि ऐन बन्न नसक्दा कार्यान्वयन हुन सकेको छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशसभा सचिवालयमा २०८१ चैत ३ गते दर्ता गराएको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत अलपत्र परेको छ ।

मन्त्रालयले दर्ता गराएपछि सचिवालयले चैत १७ गते प्रदेश सांसद्हरुलाई उक्त विधेयक वितरण गरेको थियो ।त्यसबेला केही सांसद्हरुले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न नहुने भन्दै विरोध जनाएका थिए ।

प्रदेश सभाका सामाजिक विकास समितिका सभापति धर्मराज पाठकका अनुसार त्यसबेला पहाडी जिल्लाका सांसद्हरुले विकासदेखि ठूलो आयोजना तराइमै केन्द्रित गर्दा सन्तुलित विकास नहुने भन्दै विरोध गरेपछि प्रदेश सरकार पछि हटेको थियो ।

त्यसपछि अर्को स्थानको छनोट र विधेयक सच्याउने वा प्रस्तावित टीकापुरलाई नै अगाडि बढाउने विषयमा अन्योलता छ । 

सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले राजनीतिक सहमति जुट्न नसकेको हुँदा विधेयकलाई अगाडि बढाउन नसकिएको बताए । उनले ऐन नबनेको हुँदा विनियोजन गरिएको बजेट समेत कार्यान्वयन हुन नसकेको बताए ।

चालुआर्थिक वर्षमा प्रदेश सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि भौतिक संरचना निर्माण गर्न पाँच करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने सञ्चालन तथा व्यवस्थापनका लागि थप ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने घोषणा गर्दै पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update